• विद्यालयमा गोलीकाण्ड, चार जनाको मृत्यु ।
• १५ विद्यार्थी घाइते, किशोरमाथि अनुसन्धान ।
• थाइल्यान्डमा बन्दुक हिंसाप्रति पुनः चिन्ता ।
बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्कक नजिकै नोन्थाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने कम्तीमा १५ विद्यार्थी घाइते भएका छन् । घटनामा संलग्न बन्दुकधारी किशोर विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आन्तरिक उपमन्त्री पोलापी सुवुन्चवीका अनुसार मृतकमध्ये दुई जना शिक्षक र दुई जना विद्यार्थी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीको पनि मृत्यु भएको छ । केही समाचारमा प्रहरीले गोली हानेको उल्लेख गरिएको छ भने केहीमा उनले आत्महत्या गरेको जनाइएको छ ।
प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनालाई अत्यन्त दुःखद भन्दै यस्ता घटना दोहोरिन नहुने बताउनुभएको छ । आक्रमणमा प्रयोग गरिएको हाते बन्दुक किशोरले कसरी प्राप्त गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको आन्तरिक मन्त्रालयले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा विद्यालयको पोसाक लगाएका संदिग्ध विद्यार्थी र घटनास्थलमा गोलीका दाग देखिएका छन् । घटनापछि विद्यालय वरपरको यातायात प्रभावित भएको थियो भने अभिभावकहरू आफ्ना छोराछोरीलाई लिन विद्यालय पुगेका थिए ।
थाइल्यान्डमा बन्दुक स्वामित्वको दर दक्षिणपूर्वी एसियामै उच्च मानिन्छ । अनुमानित एक करोड बन्दुक प्रचलनमा रहेका छन् ।
यसअघि फेब्रुअरीमा पनि दक्षिणी थाइल्यान्डको एक विद्यालयमा किशोरले गोली चलाउँदा प्रधानाध्यापकको मृत्यु भएको थियो भने दुई विद्यार्थी घाइते भएका थिए । सन् २०२२ मा भने एक पूर्व प्रहरी अधिकारीले उत्तर थाइल्यान्डको बालविद्यालयमा २४ बालबालिका र १२ वयस्कको हत्या गरेका थिए, जुन देशकै सबैभन्दा भीषण सामूहिक हत्यामध्ये एक मानिन्छ । एएफपी)
