RayNewsDaily
हर्मुजमा इरान-ओमान सहमति अन्तिम चरणमा
एआई निर्मित चित्र ।
  • इरान-ओमान हर्मुज सम्झौता अन्तिम चरणमा ।
  • इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍यायो ।
  • हर्मुज तनावले विश्व ऊर्जा बजारमा असर जारी ।

तेहरान । इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । तर इरानले जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको छ । तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि छिट्टै सार्वजनिक हुने उहाँले बताउनुभयो । यद्यपि ओमानसँगको सकारात्मक वार्ताले तत्काल सबै जहाजका लागि हर्मुज पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने उहाँको भनाइ छ ।

बाकाईले हर्मुजमा विद्यमान सुरक्षा जोखिमको मुख्य कारण अमेरिकाले इरानी बन्दरगाहमाथि कायम राखेको नौसैनिक नाकाबन्दी तथा इरानविरुद्धका गतिविधि रहेको दाबी गर्नुभयो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले हर्मुज जलघाँटीमा कडा नियन्त्रण कायम गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान हर्मुज पुनः खोल्ने सहमतिनजिक पुगेको दाबी गर्दै आउनुभएको छ । तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको र समाधान ओमानसँगको समन्वयमार्फत खोजिरहेको जनाएको छ ।

यसैबीच बेलायतको समुद्री सुरक्षा निकाय (युकेएमटीओ) ले ओमानको कुम्जार क्षेत्रनजिक हर्मुज पार गरिरहेको एक तेल ट्याङ्करका चालकदलले दुईवटा विस्फोटको आवाज सुनेको जनाएको छ । घटनामा जहाज र चालकदल सुरक्षित रहेका छन् ।

यमनका हुथी विद्रोहीले दुई साउदी तेल ट्याङ्करमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । यसबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

युद्धअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) हर्मुज जलघाँटीमार्फत निर्यात हुने गरेको थियो । त्यसयता उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पटक–पटक मूल्य वृद्धि गराएको छ ।

अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले इरानसँगको कूटनीतिक प्रक्रिया जटिल र समय लाग्ने बताउँदै इरानी नेतृत्वभित्रको आन्तरिक विभाजनले पनि वार्ता कठिन बनाएको धारणा व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update