RayNewsDaily
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण, अमेरिका-इरान तनाव फेरि चुलियो
एआई निर्मित सांकेतिक चित्र ।
  • हर्मुज जलघाँटीमा कार्गो जहाजमाथि अज्ञात प्रक्षेप्यास्त्र आक्रमण ।
  • अमेरिका-इरान वार्ताबारे दुवै पक्षका परस्परविरोधी दाबी ।
  • ऊर्जा आपूर्ति मार्गको सुरक्षाबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्यो ।

कायरो । हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रको आक्रमणमा परेको छ । अमेरिका-इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला भएको यस घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्गको सुरक्षाबारे नयाँ चिन्ता बढाएको छ ।

बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ)का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो । जहाजको नाम, झण्डा वा त्यसले बोकेको सामानबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

अल खसाब पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी नजिक पर्छ । विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यो जलमार्ग रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ ।

फेब्रुअरीमा अमेरिका-इरान युद्ध सुरु भएयता इरानले जलमार्ग हुँदै हुने जहाज आवतजावतमा अवरोध गर्दै आएको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राखेको छ । त्यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार प्रभावित हुँदै आएको छ ।

hor-1785831871.jpg
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको हो । ट्रम्पले इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुवै पक्षबीच संवाद जारी रहेको बताउनुभएको छ ।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै वार्ता नरहेको स्पष्ट पार्दै तेहरानको संवाद केवल ओमानसँग भइरहेको र त्यसको केन्द्र हर्मुज जलघाँटीमा सुरक्षित जलयात्राको व्यवस्था रहेको बताउनुभएको छ ।

ट्रम्पले भने इरानले वार्ताको पहल आफैँ गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत तेहरानको सार्वजनिक अभिव्यक्तिलाई विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभएको छ । उहाँले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने इरानको प्रवृत्तिले भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ । एपी

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update