RayNewsDaily
सुडानी सेनाको ड्रोन आक्रमणमा डार्फरको अदालतमा ३५ जनाको मृत्यु
  • सुडानी सेनाको ड्रोन आक्रमणमा नागरिक अदालतमा कम्तीमा ३५ जनाको ज्यान गयो ।
  • मानवअधिकार समूहले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गर्‍यो ।
  • नागरिक संरचनामाथिको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको दाबी ।

कायरो । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले जनाएको छ ।

सुडानमा अत्याचारका घटनाको अभिलेखीकरण गर्दै आएको स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल-जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयलाई ड्रोनबाट निशाना बनाइएको हो । उक्त अदालतले स्थानीय क्षेत्रमा न्यायिक तथा सामाजिक भूमिका निर्वाह गर्दै आएको समूहले जनाएको छ ।

समूहले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै नागरिक र सार्वजनिक संस्थामाथि गरिएको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ ।

Africa-Sudan-Darfur-1785766687.png
सन् २०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जारी युद्धका कारण देश गम्भीर मानवीय सङ्कटमा परेको छ । सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसीएलईडी) का अनुसार हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको छ । सहायता संस्थाहरूले वास्तविक मृतक सङ्ख्या यसभन्दा धेरै हुन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी युद्ध नागरिक मृत्युको प्रमुख कारण बनेको छ । सन् २०२६ का पहिलो चार महिनामा भएका नागरिक मृत्युमध्ये ८० प्रतिशत युद्धसँग सम्बन्धित रहेका छन् ।

सुडानी सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । एपी

 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update