RayNewsDaily
ट्रम्पको दाबीपछि इरानले भन्यो : हर्मुज अझै बन्द छ
  • ओमानसँगको सहमति प्राविधिक तयारी मात्र भएको दाबी ।
  • हर्मुज खोल्ने निर्णय राष्ट्रिय हितका आधारमा हुने स्पष्टोक्ति ।
  • ट्रम्पको दाबीपछि इरानले जलघाँटी अझै बन्द रहेको बतायो ।

तेहरान । इरानले ओमानसँग भएको नयाँ समुद्री यातायात मार्गसम्बन्धी प्राविधिक समझदारीलाई हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने निर्णयका रूपमा व्याख्या गर्न नमिल्ने स्पष्ट पारेको छ । इरानले जलघाँटी अझै बन्द रहेको र त्यसलाई खोल्ने निर्णय पूर्ण रूपमा अलग विषय भएको बताएको छ ।

इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताउनुभयो । उहाँले यसलाई हर्मुज जलघाँटी पुनः खोल्ने निर्णयका रूपमा बुझ्न नहुने उल्लेख गर्नुभयो ।

hormuj-iranian-guard-1784792378.jpeg
बाघाईले अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन र इरानविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिका कारण जलघाँटी बन्द रहेको बताउनुभयो । अमेरिकी अधिकारीहरूको पछिल्ला अभिव्यक्तिले इरानको नीति परिवर्तन नहुने र निर्णय राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय हितका आधारमा मात्र गरिने उहाँको भनाइ छ ।

उहाँका अनुसार इरान र ओमानबीच नयाँ ‘ट्राफिक सेपरेसन स्किम’ तयार गर्ने विषयमा छलफल भइरहेको छ । तर, उक्त समझदारी जलघाँटी पुनः सञ्चालनका लागि आवश्यक शर्त भए पनि त्यसले मात्र जलघाँटी खुल्ने आधार नबन्ने उहाँले स्पष्ट पार्नुभयो ।

बाघाईले इरानको सार्वभौम अधिकारको पूर्ण सम्मान सुनिश्चित भएपछि मात्र हर्मुज जलघाँटी सञ्चालनबारे निर्णय हुन सक्ने बताउनुभयो । साथै, ओमानसँगको वार्ता विशुद्ध द्विपक्षीय विषय भएको र त्यसमा कुनै तेस्रो पक्षको भूमिका नरहेको उल्लेख गर्नुभयो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलघाँटी खोल्न सहमति जनाएको दाबी गरेपछि इजरायली सञ्चारमाध्यमहरूले इरान र अमेरिकाबीचको समझदारी पुनः सक्रिय गराउने कूटनीतिक प्रयास भइरहेको जनाएका छन् । एएनआई

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update