RayNewsDaily
चीनमा आकस्मिक बाढीबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीपछि उद्धार तथा खोजी कार्य । तस्वीर : एजेन्सी
  • पर्यटकीय क्षेत्रमा आएको बाढीमा परी २५ जनाको मृत्यु ।
  • घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक ।
  • चीनमा पछिल्लो समय चरम मौसमी घटनाबाट ठूलो क्षति ।

बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो । गत जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्न पर्यटकको भीड लाग्ने ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो ।

घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो ।

दक्षिणी गान्सु प्रान्तको पहाडी क्षेत्रमा रहेको सुवाङशिमेन प्राकृतिक ढुङ्गाका तोरण, उच्च पहाडी घाँसे मैदान र पहाडी खोलानालाका कारण चर्चित पर्यटकीय क्षेत्र हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पाल र सवारीसाधन राखिएको उपत्यकाबाट तीव्र गतिमा बाढी बगिरहेको देखिएको थियो ।

यस गर्मीयाममा चीन चरम मौसमी घटनाबाट प्रभावित बनेको छ । जुलाईमा हुबेई प्रान्तमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, दक्षिणी ग्वाङसी क्षेत्रमा भारी वर्षापछि बाँध भत्किँदा छ जनाको मृत्यु भएको र एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । गान्सु प्रान्तकै दाङचाङ काउन्टीमा गएको पहिरोमा परी जुलाईमै २१ जनाको मृत्यु भएको थियो । एएफपी

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update