RayNewsDaily
इरानसँग युद्ध अन्त्यको सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमान। अमेरिका–इरान तनाव र सम्भावित युद्धविरामबारे छलफल भइरहेका बेला खिचिएको फाइल तस्बिर। तस्बिर : एपी
  • युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी ।
  • नयाँ सैन्य आक्रमण रोक्न तयार रहेको ट्रम्पको सङ्केत, इरानको प्रतिक्रिया अझै आएको छैन ।
  • अमेरिका-इरान तनावबीच साउदी अरबले द्वन्द्व थप चर्किन सक्ने चिन्ता व्यक्त गरेको छ ।

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक खाकामा सहमति जुटेको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत उहाँले प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्यलाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताउनुभएको छ ।

“यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,” ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँका अनुसार बेन्जामिन नेतान्याहुले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गर्नुभएको छ । यद्यपि, ट्रम्पको दाबीप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

पाँच महिनादेखि जारी द्वन्द्वबीच आएको यो घोषणालाई अप्रत्याशित मोडका रूपमा हेरिएको छ । एक दिनअघि मात्र ट्रम्पले इरानलाई वार्तामा आउन दबाब दिन पुनः व्यापक सैन्य आक्रमणको तयारी भइरहेको सङ्केत गर्नुभएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसबेला ट्रम्पले इरानको क्षेप्यास्त्र क्षमता कमजोर पार्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताउनुभएको थियो । यद्यपि, युद्धको रणनीति समयक्रममा परिवर्तन हुँदै आएको छ ।

जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो । तर, होर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भङ्ग भएको थियो ।

साउदी अरबको चिन्ता

ट्रम्पको घोषणा मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो । छलफलको जानकारी राख्ने स्रोतका अनुसार युवराजले अमेरिका-इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

स्रोतका अनुसार अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रमा ठूलो आक्रमण गरे त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने चिन्ता साउदी पक्षको छ ।

युवराजले ट्रम्पसँग अमेरिकाले चाल्न सक्ने सम्भावित कदमबारे स्पष्ट जानकारी माग गर्नुभएको थियो । ह्वाइट हाउसका एक अधिकारीले दुई नेताबीच वार्ता भएको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

यसै साता साउदी अरबले इराकस्थित इरान समर्थित समूहका रसद र हतियार भण्डारणस्थलमाथिको अमेरिकी कारबाहीमा साथ दिएको थियो । साथै, उसले अमेरिका र इरानलाई वार्तामा फर्कन आग्रह गर्दै आएको छ ।

युवराजले आफ्ना भाइ तथा रक्षामन्त्री खालिद बिन सलमानलाई वासिङ्टन पठाएर इरानसम्बन्धी रणनीतिबारे छलफल गराउनुभएको थियो । उहाँले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

यसैबीच, ट्रम्पले मङ्गलबार ह्वाइट हाउसमा बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्नुभएको थियो । फेब्रुअरीमा युद्ध सुरु भएयता उहाँहरूबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो । नेतान्याहुले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

निर्वाचनअघि बढ्दो राजनीतिक दबाब

नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा यो युद्ध ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ । विश्व अर्थतन्त्रमा प्रभाव पारेको यो द्वन्द्व अमेरिकी जनमतमा पनि लोकप्रिय नरहेको विश्लेषण गरिएको छ ।

यसै साताको सुरुमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अमेरिकी सेनाले विफल पारेपछि ट्रम्पले कडा जवाफी कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

शुक्रबार उहाँले “हामी जित्न चाहन्छौँ” भन्दै आवश्यक परे इरानमाथि “अत्यन्त कडा” प्रहार गर्ने बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले युद्धविरामसम्बन्धी समझदारी उल्लङ्घन गर्दै व्यावसायिक जहाज र अमेरिकी सैनिकलाई लक्षित आक्रमण गरेको आरोप लगाउनुभएको छ ।

ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा थिए । ट्रम्पले अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको र आवश्यक परे तत्काल कारबाही गर्न सक्षम रहेको बताउनुभएको थियो । यसैबीच, अमेरिकी विदेश मन्त्रालयले इरानसँग बढ्दो तनावलाई मध्यनजर गर्दै मध्यपूर्वका १० देशमा रहेका अमेरिकी नागरिकका लागि उच्च सुरक्षा सतर्कता जारी गरेको जनाएको छ । एपी

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update