RayNewsDaily
रुसी मिसाइल आक्रमणमा किएभमा तीनको मृत्यु
  • रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु ।
  • आवासीय भवनमा क्षति, आगलागी र मानिस फसेको आशङ्का ।
  • जेलेन्स्कीद्वारा थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीको माग ।

किएभ । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।

शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किएको छ । त्यहाँ पनि केही व्यक्ति फसेको जनाइएको छ । डार्नित्स्की जिल्लासहित राजधानीका अन्य क्षेत्रमा समेत गोदाम भवनमा आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

यसअघि दुई दिनअघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । सो क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको जनाइएको थियो ।

यसैबीच, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको निरन्तर हवाई आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ ।

उहाँले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको कुराकानी र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेट सकारात्मक रहेको उल्लेख गर्दै ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टर उपलब्ध गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । एपी

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update