- ट्रम्पद्वारा गाजा शान्ति सम्झौता भएको घोषणा ।
- हमासको पूर्ण निशस्त्रीकरण र इजरायली सेना फिर्ता हुने दाबी ।
- कतार, इजिप्ट र टर्कीको मध्यस्थता सफल भएको ट्रम्पको भनाइ ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको पूर्ण निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा गर्नुभएको छ । उहाँले कतारसहितका मध्यस्थकर्ता राष्ट्रहरूको भूमिकाको प्रशंसा गर्दै यसलाई गाजामा स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण उपलब्धि बताउनुभएको छ ।
युद्धले ध्वस्त भएको गाजा शहर ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा गरिएको पोस्टमार्फत ट्रम्पले हमास तथा गाजामा सक्रिय अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति भएको दाबी गर्नुभएको हो । उहाँका अनुसार सम्झौता चरणबद्ध रूपमा कार्यान्वयन हुनेछ र निशस्त्रीकरण पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुनेछ ।
ट्रम्पले मध्यस्थतामा भूमिका खेलेका कतार, इजिप्ट र टर्कीलाई विशेष धन्यवाद दिँदै उनीहरूको प्रयासले यो ऐतिहासिक सहमति सम्भव भएको बताउनुभएको छ ।
उहाँले उक्त सम्झौतालाई युद्ध अन्त्यका लागि आफूले अघि सारेको २० बुँदे योजनाको प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्दै गाजाको सुरक्षा तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने जानकारी पनि दिनुभएको छ । क्युएनए
