RayNewsDaily
अमेरिका-इरान तनाव चर्किँदै, वार्ता जारी रहेको पाकिस्तानको दाबी
  • अमेरिका-इरानबीच वार्ताको प्रयास जारी रहेको पाकिस्तानको भनाइ ।
  • दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र ।
  • जोर्डन, कुवेत र इजिप्टसम्म द्वन्द्वको प्रभाव ।

तेहरान । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच वार्ताको प्रयास भने जारी रहेको पाकिस्तानले जनाएको छ । तर, वार्तासँगै दुवै पक्षले एकअर्कामाथि आक्रमणलाई निरन्तरता दिएका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले हर्मुज जलमार्गको सुरक्षा र तनाव कम गर्ने विषयमा अमेरिका र इरानबीच संवाद भइरहेको बताउनुभएको छ । उहाँका अनुसार पाकिस्तानले सबै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन अधिकतम प्रयास गरिरहेको छ ।

यता अमेरिकी सेनाले इरानका सैन्य कमाण्ड केन्द्रसहित रिभोलुसनरी गार्डका दर्जनौं लक्ष्यमा आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनमाथिको आक्रमणको प्रतिशोधस्वरूप कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार दक्षिणपश्चिमी खुजेस्तान प्रान्तका विभिन्न सहर र खाडीस्थित क्वेश्म टापुमा आक्रमण भएको छ । इरानले अमेरिकी सहयोगमा हर्मुज जलमार्ग पार गर्न खोजेका दुई तेल ट्याङ्करलाई फर्किन बाध्य बनाइएको दाबी पनि गरेको छ ।

यसैबीच जोर्डनले लगातार दोस्रो दिन इरानी मिसाइल अवरोध गरेको जनाएको छ। पाँचवटा मिसाइल खसालिएको र कुनै मानवीय क्षति नभएको त्यहाँको सेनाले जनाएको छ ।

कुवेतले इरानी आक्रमणमा चिनियाँ कम्पनीको भवनमा क्षति पुग्दा एक कामदारको मृत्यु भएको जनाएको छ । उता इजिप्टको भूमध्यसागरीय ग्यास आयात केन्द्रमा ड्रोन आक्रमण भएपछि दुई जहाज क्षतिग्रस्त भएका छन् । घटनाको जिम्मेवारी कसैले नलिए पनि इजिप्ट सरकारले ड्रोन आक्रमण भएको पुष्टि गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

अमेरिका–इजरायल र इरानबीच सुरु भएको क्षेत्रीय द्वन्द्व अहिले मध्यपूर्वका अन्य मुलुकमा समेत फैलिँदै गएको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update