RayNewsDaily
एआई चिपको बूमले सामसुङमा ऐतिहासिक नाफा, बजारमा भने सेयर बिक्रीको दबाब
सामसुङ मुख्यालय ।
  • एआई चिपको मागले सामसुङको कीर्तिमानी नाफा ।
  • बलियो नतिजापछि पनि सेयरमा ठूलो गिरावट ।
  • एआई विस्तारसँगै चिपको माग अझ बढ्ने अनुमान ।

सियोल । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा इतिहासकै बलियो वित्तीय नतिजा सार्वजनिक गरेको छ । तर, एआई क्षेत्रमा भइरहेको उच्च लगानीको दीर्घकालीन टिकाउपनप्रति बढ्दो चिन्ताका कारण कम्पनीको सेयरमा भने उल्लेखनीय गिरावट देखिएको छ ।

सामसुङका अनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा कम्पनीको परिचालन मुनाफा अघिल्लो वर्षको तुलनामा करिब १,८०० प्रतिशतले बढेर ८९५ खर्ब वोन पुगेको छ । यस अवधिमा राजस्व एक हजार ७१५ खर्ब वोन पुगेको छ, जुन वार्षिक आधारमा १३० प्रतिशतले बढी हो । शुद्ध नाफा पनि करिब १,३०० प्रतिशतले बढेर ७१६ खर्ब वोन पुगेको कम्पनीले जनाएको छ ।

Samsung-work-place-1785401974.jpg
यद्यपि बलियो वित्तीय नतिजापछि पनि दक्षिण कोरियाको सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा बिक्री दबाब बढेको छ । बुधबार सामसुङको सेयर १२ प्रतिशतभन्दा बढीले घट्दा प्रतिस्पर्धी एसके हाइनिक्सको सेयर पनि लगातार दोस्रो दिन ओरालो लागेको थियो । विश्लेषकहरूले एआई पूर्वाधारमा भइरहेको विशाल लगानीको प्रतिफल दीर्घकालसम्म कायम रहने वा नरहने विषयमा लगानीकर्तामा बढ्दो शङ्का देखिएको बताएका छन् ।

एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा उल्लेखनीय आम्दानी र मुनाफा सार्वजनिक गरेको भए पनि त्यसले बजारको अपेक्षा पूरा गर्न नसकेको जनाइएको छ । पछिल्लो एक महिनामा उच्च विन्दुमा पुगेको कम्पनीको बजार मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ ।

सामसुङ, एसके हाइनिक्स र माइक्रोन विश्वका प्रमुख उच्च–ब्यान्डविड्थ मेमोरी (एचबिएम) चिप उत्पादकमध्ये पर्छन् । यी चिप एआई प्रोसेसर, च्याटबोट, जटिल गणना तथा यथार्थपरक तस्बिर निर्माणजस्ता उच्च क्षमताका प्रणाली सञ्चालनका लागि अत्यावश्यक मानिन्छन् ।

सामसुङले सर्भरमा प्रयोग हुने मेमोरी उत्पादनको उच्च मागका कारण आफ्नो मेमोरी व्यवसायले हालसम्मकै उत्कृष्ट त्रैमासिक प्रदर्शन गरेको जनाएको छ । कम्पनीले वर्षको दोस्रो छ महिनामा पनि एआई पूर्वाधार विस्तार, सर्भरको बढ्दो माग र ‘एजेन्ट एआई’ प्रविधिको विस्तारसँगै बजार बलियो रहने अपेक्षा व्यक्त गरेको छ ।

कम्पनीका प्रमुख वित्तीय अधिकारी पार्क सून–चोलले विश्वव्यापी मेमोरी चिप अभाव सन् २०२७ मा अझ गहिरिने र त्यसको प्रभाव सन् २०२८ सम्म रहने अनुमान गर्नुभयो ।

उता, अमेरिकाको टेक्सास राज्यस्थित टेलरमा निर्माणाधीन पहिलो चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको सामसुङले जनाएको छ । दोस्रो उत्पादन केन्द्रको निर्माण पनि यसै वर्षपछि सुरु हुने र सन् २०३० सम्म पूर्ण व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य राखिएको छ ।

बजार अनुसन्धान संस्था काउन्टरपोइन्टका विश्लेषक एमएस ह्वाङका अनुसार एआईको तीव्र विस्तारले एचबिएम मात्र होइन, परम्परागत न्यान्ड र ड्राम मेमोरी चिपको मूल्य र माग पनि उल्लेखनीय रूपमा बढाएको छ । सामसुङले आफ्नो बलियो मेमोरी व्यवसायको आधारमा विभिन्न क्षेत्रमा बजार हिस्सा विस्तार गरिरहेको उहाँको भनाइ छ ।

हालै सामसुङले अमेरिकी चिप निर्माता ब्रोडकमसँग एचबिएमसहित उन्नत मेमोरी समाधान उपलब्ध गराउने रणनीतिक साझेदारी घोषणा गरेको थियो । उक्त सहकार्यको मूल्य सन् २०३० सम्म दुई खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ ।

यसैबीच, सामसुङले अमेरिकी सेयर बजारमा सूचीकृत हुने सम्भावनासम्बन्धी अड्कलबाजीलाई अस्वीकार गर्दै तत्काल नयाँ पूँजी सङ्कलनको आवश्यकता नरहेको स्पष्ट पारेको छ ।

दक्षिण कोरिया सरकारले सामसुङ र एसके हाइनिक्सले संयुक्त रूपमा चारवटा अत्याधुनिक चिप उत्पादन केन्द्र स्थापना गर्न आठ हजार खर्ब वोन लगानी गर्ने योजनालाई पनि पुष्टि गरेको छ । यद्यपि, विश्लेषकहरूले विश्वव्यापी सेमिकन्डक्टर ‘सुपरसाइकल’ अपेक्षाभन्दा चाँडै अन्त्य हुन सक्ने जोखिमलाई अझै प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । एएफफी 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update