RayNewsDaily
सुनसरीमा जनजीवन सामान्य बन्दै, सर्वपक्षीय पहलबाट सद्भाव कायम गर्ने प्रतिबद्धता
  • सुनसरीमा सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख, जनजीवन सहज बन्दै ।
  • स्थानीय तहदेखि केन्द्रसम्म सर्वपक्षीय संवाद र सद्भाव कायम गर्ने पहल ।
  • सरकारद्वारा घटनाको अनुसन्धान, दोषीमाथि कारबाही र पीडितलाई न्यायको प्रतिबद्धता ।

काठमाडौँ । गत आइतबार दुई समूहबीच भएको झडपपछि अशान्त बनेको सुनसरीको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको सक्रिय पहलपछि जिल्लामा शान्ति तथा सद्भाव कायम गर्ने प्रयास प्रभावकारी बन्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाको सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख छ भने प्रभावित स्थानीय तहमा सर्वपक्षीय सद्भाव बैठक आयोजना गरी शान्ति कायम गर्ने सहमति जुटाइएको छ ।

उहाँले हरिनगर र भोक्राह नरसिंह गाउँपालिकामा बुधबार आयोजित सर्वपक्षीय बैठकले शान्ति, सुव्यवस्था र सामाजिक सद्भावमा खलल पुग्न नदिन सबै पक्षले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार प्रशासनले प्रभावित स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफल गरिसकेको छ भने विवादमा संलग्न दुवै पक्षसँग पनि संवाद अघि बढाइरहेको छ । उद्देश्य जिल्लामा स्थायी शान्ति र आपसी विश्वासको वातावरण निर्माण गर्नु रहेको उहाँको भनाइ छ ।

गत आइतबार राति दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु गम्भीर विषय भएको उल्लेख गर्दै उहाँले घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री शाहले यस्ता घटना पुनः नदोहोरिने गरी आवश्यक सुधारका कदम चालिने बताउँदै नागरिकलाई संयम अपनाउन, उत्तेजना र प्रतिशोधको भावना त्याग्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।

गृह मन्त्रालयले पनि सुनसरी घटनापछि अन्य जिल्लामा हुन सक्ने सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार विशेषगरी बाँके, कपिलवस्तु र मधेश प्रदेशका जिल्लासँग नियमित समन्वय भइरहेको छ । हाल अन्य जिल्लाको अवस्था सामान्य रहेको र सुनसरीमा पनि संवादमार्फत समस्या समाधानको प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गृह मन्त्रालयमा मन्त्री, सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागितामा जिल्लागत सुरक्षा अवस्थाको समीक्षा समेत गरिएको छ ।

यसैबीच, बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अगुवाइमा सिंहदरबारमा सर्वदलीय छलफल सम्पन्न भएको छ । छलफलपछि नौ राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि वा उत्तेजनामा नफस्न सबैलाई आग्रह गरेका छन् ।

संयुक्त अपिलमा लोकतान्त्रिक व्यवस्थामा जस्तोसुकै असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै आफ्ना माग शान्तिपूर्ण ढङ्गले राख्न सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको छ ।

साथै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने, संवादलाई तल्लो तहसम्म विस्तार गर्ने र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न सबै राजनीतिक दलका संरचनालाई सक्रिय बनाउने सहमति भएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update