RayNewsDaily
टेलिग्रामका संस्थापक दुरोभविरुद्ध रुसको आतंकवाद अभियोग
टेलिग्रामका संस्थापक पावेल दुरोभ । फाइल तस्बिर: एपी।
  • दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप ।
  • एफएसबीले अन्तर्राष्ट्रिय वाञ्छित सूचीमा राख्यो ।
  • रुसले इन्टरनेट नियन्त्रण थप कडा बनायो ।

मस्को । रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै उहाँलाई अन्तर्राष्ट्रिय वाञ्छित सूचीमा राखेको घोषणा गरेको छ । यो कदमलाई टेलिग्राममाथि रुसले लगाउँदै आएको दबाब र इन्टरनेटमाथिको सरकारी नियन्त्रण कडा बनाउने अभियानको निरन्तरताका रूपमा हेरिएको छ ।

एफएसबीका अनुसार टेलिग्राम प्रशासनले युक्रेनी गुप्तचर निकाय, आतङ्कवादी तथा चरमपन्थी समूहले प्रयोग गरिरहेका विभिन्न च्यानल, च्याट र बोट हटाउन असफल भएको आरोप लगाइएको छ । ती माध्यमहरू रुसभित्र तोडफोड, आतङ्कवादी गतिविधि, सामूहिक हत्या तथा साइबर ठगीका योजना बनाउन र समन्वय गर्न प्रयोग भएको तथा त्यसबाट मानवीय क्षति पुगेको दाबी गरिएको छ ।

रुसमा जन्मिएका दुरोभ हाल विदेशमा बस्दै आउनुभएको छ । यस वर्षको सुरुमै उहाँले रुसी अधिकारीहरूले आफूमाथि आपराधिक अनुसन्धान थालेको जानकारी दिँदै त्यसलाई गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयासको हिस्सा भएको आरोप लगाउनुभएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले पछिल्ला वर्षहरूमा इन्टरनेटमाथिको नियन्त्रण उल्लेखनीय रूपमा कडा बनाएको छ । विशेषगरी सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि फेसबुक, इन्स्टाग्राम, एक्स, सिग्नल, भाइबर, युट्युब, ह्वाट्सएप र टेलिग्रामजस्ता लोकप्रिय डिजिटल प्लेटफर्ममाथि विभिन्न प्रकारका प्रतिबन्ध वा पहुँच नियन्त्रण लागू गरिएको छ । यद्यपि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर ती प्रतिबन्ध छल्ने प्रयास गर्दै आएका छन् ।

यसैबीच, रुसले ‘म्याक्स’ नामक राष्ट्रिय सन्देश एपलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ । आलोचकहरूले उक्त एप प्रयोगकर्तामाथि निगरानी बढाउन प्रयोग हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । विकासकर्ता र सरकारी अधिकारीहरूले भने यसलाई सन्देश आदानप्रदान, सरकारी सेवा र भुक्तानीलगायत सुविधा समेटिएको एकीकृत डिजिटल प्लेटफर्मका रूपमा प्रस्तुत गरेका छन् । उक्त एपले आवश्यक पर्दा प्रयोगकर्ताको विवरण सरकारी निकायलाई उपलब्ध गराउने जनाएको छ भने यसमा अन्तदेखि अन्तसम्मको इन्क्रिप्सन सुविधा नरहेको विज्ञहरूको भनाइ छ ।

दुरोभले अन्य देशमा पनि कानुनी अनुसन्धानको सामना गरिरहनुभएको छ । सन् २०२४ मा टेलिग्राम लागुऔषध तस्करी र बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको वितरणजस्ता गैरकानुनी गतिविधिमा प्रयोग भएको आरोपमा उहाँलाई फ्रान्सको राजधानी पेरिसमा पक्राउ गरिएको थियो । एपी

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update