RayNewsDaily
डिसेम्बरभित्र बंगलादेश फर्किने शेख हसिनाको घोषणा

• ज्यान जोखिम, पक्राउ वा जेल सजायको सम्भावनाबीच स्वदेश फर्किने अडान ।
• निर्वासनमा रहे पनि फर्किन जनताले निरन्तर आग्रह गरिरहेको दाबी ।
• मानवअधिकार उल्लङ्घनका आरोप र मृत्युदण्डको फैसलालाई राजनीतिक प्रतिशोधको संज्ञा ।

नयाँदिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्नुपर्ने वा जेल जानुपर्ने अवस्था आए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने घोषणा गर्नुभएको छ । भारतमा निर्वासनमा रहँदै आउनुभएकी उहाँले आफूलाई स्वदेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताउनुभएको छ ।

एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहे पनि स्वदेश फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो । ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि त्यसका लागि आफू तयार रहेको उहाँको भनाइ छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । आन्दोलनकारीले प्रधानमन्त्री निवास घेरेपछि उहाँ हेलिकोप्टरमार्फत भारत आउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दमनका क्रममा भएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

गत नोभेम्बरमा ढाकास्थित अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त फैसलालाई कानुनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिनुभएको छ ।

भारतमा गोप्य स्थानमा बसोबास गरिरहनुभएकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नभएको बताउनुभयो । बङ्गलादेशले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि आफ्नो निर्णय त्यससँग असम्बन्धित रहेको उहाँको भनाइ छ । भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको र आफू भारतमा सम्मानपूर्वक बसिरहेको पनि उहाँले बताउनुभयो ।

हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत-बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः स्थिर बन्दै गएको बताइएको छ ।

मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप र विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन् । हसिनाले भने ती आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियान भएको दाबी गर्दै प्रत्येक आरोपपछि अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिएको बताउनुभयो ।

विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि उहाँले अस्वीकार गर्नुभयो । आफ्नो सरकारले आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रयास गरेको दाबी गर्दै उहाँले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान भएको आरोप लगाउनुभयो ।

भारतमा हालै भएका विद्यार्थी आन्दोलनबारे टिप्पणी गर्न उहाँले अस्वीकार गर्नुभयो । स्वदेश फर्किएपछि अवामी लिगमार्फत सक्रिय राजनीतिमा फर्किने वा नफर्किने विषयमा पनि उहाँले स्पष्ट धारणा सार्वजनिक गर्नुभएन । सत्ता प्राप्तिभन्दा जनताको सेवा आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति सहानुभूति व्यक्त गरे पनि उहाँले माफी माग्न अस्वीकार गर्नुभयो । एएफपी 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update