- अमेरिकाले चिनियाँ एआई कम्पनीलाई बदनाम नगर्न चीनको आग्रह ।
- एआई प्रविधिमा चीनले आफ्नै अनुसन्धानबाट प्रगति गरेको दाबी ।
- विज्ञान–प्रविधिलाई राजनीतिकरण नगर्न बेइजिङको चेतावनी ।
बेइजिङ । चीनले आफ्ना कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी अधिकारीहरूले चिनियाँ एआई कम्पनीमाथि अनुसन्धान र सम्भावित प्रतिबन्धको संकेत दिएपछि बेइजिङले यस्तो प्रतिक्रिया जनाएको हो ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही अमेरिकी अधिकारीहरूले चिनियाँ एआई कम्पनीहरूले अमेरिकी प्रविधि प्रयोग गरेको तथा अमेरिकी बौद्धिक सम्पत्ति दुरुपयोग गरेको आरोपका आधारमा अनुसन्धान र प्रतिबन्धको तयारी गरिरहेको भन्ने समाचारप्रति आपत्ति जनाउनुभयो ।
उहाँले विज्ञान-प्रविधि, आर्थिक तथा व्यापारिक विषयलाई राजनीतिकरण गर्दै आधारहीन आरोपका आधारमा चिनियाँ कम्पनीलाई निशाना बनाउने अमेरिकी अभ्यासको चीनले निरन्तर विरोध गर्दै आएको बताउनुभयो ।
प्रवक्ताका अनुसार चिनियाँ एआई कम्पनीहरूले आफ्नै अनुसन्धान र विकासमार्फत उल्लेखनीय प्रगति गरेका छन् । केही चिनियाँ एआई मोडेलको सार्वजनिक प्रस्तुति अमेरिकी मोडेलसँग लगभग एकै समय भएको र कतिपय मोडेलले विश्वस्तरीय क्षमता हासिल गरिसकेको उहाँको दाबी छ ।
उहाँले नवीनता कुनै एक देशको एकाधिकार नभएको उल्लेख गर्दै चिनियाँ कम्पनीहरूले आधारभूत अनुसन्धान, प्राविधिक आत्मनिर्भरता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समान महत्त्व दिएको बताउनुभयो । उहाँका अनुसार धेरै अमेरिकी एआई कम्पनीहरूले पनि अनुसन्धान तथा विकासका क्रममा चिनियाँ एआई मोडेल प्रयोग गरेका छन् ।
चीनले दुवै देशका शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार एआई क्षेत्रमा संवाद र सहकार्यलाई अघि बढाउन तथा विश्वको हितका लागि एआई प्रशासनलाई थप प्रभावकारी बनाउन अमेरिका सकारात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिएको छ । एएफपी
