RayNewsDaily
इरान-अमेरिका तनाव केही मत्थर, तेलको मूल्यमा उल्लेख्य गिरावट
  • इरान र अमेरिकाले सैन्य कारबाही अस्थायी रूपमा रोके ।
  • तनाव घटेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो ।
  • ट्रम्प-इरान वार्ताको सम्भावनाले कूटनीतिक पहललाई बल ।

तेहरान । पाँच महिनादेखि जारी इरान-अमेरिका सैन्य तनाव केही मत्थर हुने सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक पहललाई अवसर दिने संकेत गरेपछि इरानले पनि आफ्नो प्रतिशोधात्मक सैन्य कारबाही स्थगित गरेको जनाएको छ । यससँगै गल्फ क्षेत्रमा तेल ढुवानी र ऊर्जा पूर्वाधारमाथिको तत्कालको जोखिम कम भएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहे पनि तत्काल थप आक्रमण नगर्ने नीति अपनाइएको छ । इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले पनि अमेरिकाले पछिल्ला दुई रातदेखि हवाई आक्रमण नगरेकाले इरानले प्रतिशोधात्मक सैन्य कारबाही रोकेको बताउनुभएको छ ।

यसअघि अमेरिकी सेनाले लगातार १३ रातसम्म इरानमाथि आक्रमण गरेको थियो, जुन अप्रिलको युद्धविरामपछि द्वन्द्वको सबैभन्दा तीव्र चरण मानिएको थियो । पछिल्ला दुई रात दुवै पक्षबाट प्रत्यक्ष आक्रमण नभएपछि तनाव केही कम भएको देखिएको छ ।

तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ । ब्रेन्ट क्रुडको मूल्य करिब ५.९ प्रतिशतले घटेर प्रतिब्यारेल ९१.०८ अमेरिकी डलरमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट (डब्लुटीआई) ५.७३ प्रतिशतले घटेर ८४.१९ अमेरिकी डलरमा कारोबार भएको छ ।

यसबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यसै साता ह्वाइट हाउस भ्रमण हुने कार्यक्रम छ । उहाँले ट्रम्पसँग इरानको आणविक कार्यक्रमबारे छलफल गर्ने अपेक्षा गरिएको छ । यता, ट्रम्पले इरानसँग वार्ता जारी रहेको र तेहरान पहिलेभन्दा गम्भीर रूपमा संवादमा सहभागी हुन खोजिरहेको बताउनुभएको छ । तेहरानमा भने आइतबार जनजीवन सामान्य देखिएको एएफपीका संवाददाताले जनाएका छन् । एएफपी

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update