RayNewsDaily
अमेरिकी नयाँ शुल्कप्रति चीनको आपत्ति, व्यापार युद्ध नचर्काउन चेतावनी
  • अमेरिकाको नयाँ शुल्कप्रति चीनको कडा विरोध ।
  • व्यापार युद्ध नचर्काउन वासिङ्टनलाई चेतावनी ।
  • नयाँ निर्णयले व्यापारिक तनाव फेरि बढ्ने संकेत ।

बेइजिङ । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै व्यापार युद्धको बाटो नसमाउन वासिङ्टनलाई चेतावनी दिएको छ ।

शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अमेरिकाले १० देखि १२.५ प्रतिशतसम्म आयात शुल्क लगाएको छ । चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ भने यसको कारण अमेरिकाले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई देखाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले एकपक्षीय शुल्क नीतिको चीनले सधैँ विरोध गर्ने स्पष्ट पार्दै व्यापार वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नरहेको बताउनुभयो । उहाँले यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढावा दिने चेतावनी दिनुभयो ।

उता अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न अमेरिकाले लामो समयदेखि कडा नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने बताउनुभयो ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटपछि दुई देशबीचको व्यापारिक तनाव केही मत्थर भएको थियो । तर पछिल्लो अमेरिकी निर्णयले व्यापार सम्बन्ध फेरि तनावपूर्ण बन्ने संकेत देखिएको विश्लेषण गरिएको छ । एएफपी

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update