- कङ्गोमा इबोलाबाट दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु ।
- दुर्लभ भाइरसका कारण खोप र प्रभावकारी उपचार उपलब्ध छैन ।
- स्वास्थ्य अधिकारीहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अबुजा । कङ्गोमा फैलिएको इबोला प्रकोपले विश्व स्वास्थ्य क्षेत्रमा नयाँ चिन्ता थपेको छ । गत मे १५ देखि सुरु भएको प्रकोपमा दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान गएको छ, जुन सन् २०१४-२०१६ को भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र गति रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ५३६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।
हालको प्रकोप मुख्यतः पूर्वी कङ्गोका पाँच प्रान्तमा सीमित भए पनि केही सङ्क्रमण युगान्डामा पनि देखिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सङ्क्रमितहरू ढिलो उपचारका लागि अस्पताल पुग्नु, पहिलो सङ्क्रमणको स्रोत पहिचान हुन नसक्नु र नयाँ बिरामीहरू निगरानी सूचीबाहिरबाट भेटिनुले प्रकोप नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले इबोला भाइरस अत्यन्त घातक रहेको उल्लेख गर्दै उपचार नपाएमा सङ्क्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने चेतावनी दिएको छ । हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको भन्दै स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । एपी
