- रक्षामन्त्रीपछि सेनाप्रमुख पनि पदमुक्त ।
- द्रापाती बने नयाँ कमान्डर-इन-चिफ ।
- जनदबाबपछि जेलेन्स्कीको ठूलो निर्णय ।
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि उत्पन्न राजनीतिक तथा सार्वजनिक दबाबका बीच युक्रेनी सेनाको शीर्ष नेतृत्वमा व्यापक फेरबदल गरिएको छ । केही दिनदेखिको विरोध प्रदर्शनपछि सेनाका कमान्डर-इन-चिफ ओलेक्सान्डर सिर्स्कीलाई पनि पदमुक्त गर्दै उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापातीलाई नियुक्त गरिएको छ ।
फेडोरोभको बर्खास्तीविरुद्ध सुरु भएको प्रदर्शन प्रारम्भमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित थियो । पछि प्रदर्शनकारीहरूले सिर्स्कीको नेतृत्वमाथि पनि प्रश्न उठाउँदै सेनामा व्यापक सुधारको माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति तथा सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।
पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबका कारण राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णय परिवर्तन गर्नुपरेको यो दोस्रो घटना हो । यसअघि भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उहाँ आलोचनामा पर्नुभएको थियो ।
नवनियुक्त कमान्डर-इन-चिफ द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारमुखी सोच भएका सैन्य अधिकारीका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उहाँको नियुक्तिले सोभियत शैलीको पुरानो सैन्य नेतृत्वबाट आधुनिक नेतृत्वतर्फको संक्रमणको सङ्केत दिएको छ ।
किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोका अनुसार द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेकाले उहाँको नेतृत्वले सेनाको मनोबल र युद्ध क्षमता दुवै सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीको कार्यशैलीलाई पूर्णतः फरक रहेको टिप्पणी गरेका छन् । फेडोरोभ प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिका पक्षधर थिए भने सिर्स्की परम्परागत स्थल–सैन्य रणनीतिमा जोड दिने नेतृत्वका रूपमा चिनिनुहुन्थ्यो । द्रापातीले यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने अपेक्षा गरिएको छ ।
सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना तथा सीमित भूभागका लागि सैनिकको ठूलो क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार तथा गैरयुद्धजन्य मृत्युका घटनापछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती घटनाबारे अनुसन्धान जारी रहेको र सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।
कतिपय सांसद र विश्लेषकले सार्वजनिक दबाबपछि गरिएको नेतृत्व परिवर्तनलाई युद्धकालमा पनि लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । तर केहीले भने जनदबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण अभ्यास हुन सक्ने चेतावनी दिएका छन् ।
रक्षामन्त्रीका रूपमा करिब छ महिनाको कार्यकालमा फेडोरोभले युक्रेनी सेनाको आधुनिकीकरणलाई तीव्रता दिएका थिए । उहाँले लामो दूरीका प्रहार प्रणाली, फाइबर-अप्टिक ड्रोन, निगरानी प्रणाली, प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली, सैन्य खरिद सुधार तथा अग्रपङ्क्तिका सैनिकका सेवा-सुविधा विस्तारलाई प्राथमिकता दिनुभएको थियो ।
यद्यपि पुनर्बहाली नभएसम्म अर्को सरकारी जिम्मेवारी स्वीकार नगर्ने उहाँको संकेतपछि युक्रेनमा उहाँको आगामी राजनीतिक भूमिकाबारे चासो बढेको छ । एपी
