संयुक्त राष्ट्र मुख्यालय । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि छ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदै हुनुहुन्छ ।
विश्वव्यापी वित्तीय संकट र संस्थाप्रतिको घट्दो विश्वासबीच संयुक्त राष्ट्रसङ्घको भावी नेतृत्वबारे उम्मेदवारहरूको दृष्टिकोण बुझ्न यो बहसलाई महत्त्वपूर्ण मानिएको छ ।
महासभाको सभाहलमा हुने ९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिका प्रश्नको जवाफ दिनुहुनेछ । कार्यक्रम ब्लुमबर्गमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा चिलीकी मिशेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफाएल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्स्पान, गुयानाकी क्यारोलिन रोड्रिग्स-बिर्केट र सेनेगलका माकी साल प्रतिस्पर्धामा हुनुहुन्छ ।
महासभाकी अध्यक्ष एनालेना बेयरबकले बहसले विश्वकै महत्त्वपूर्ण नेतृत्व पदका आकांक्षीहरूको नीति, प्राथमिकता र नेतृत्व दृष्टिकोण बुझ्ने अवसर प्रदान गर्ने बताउनुभएको छ । उहाँले बढ्दो ध्रुवीकरणका बीच संयुक्त राष्ट्रसङ्घलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्ने, संस्थालाई २१औँ शताब्दीअनुकूल बनाउन सक्ने र शान्ति-सुरक्षा, मानवअधिकार तथा विकासका मूल सिद्धान्तप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
हाल संयुक्त राष्ट्रसङ्घ वित्तीय अभाव र विश्वसनीयतासम्बन्धी चुनौतीसँग जुधिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संस्थामाथि अत्यधिक खर्च, कार्यक्षेत्र विस्तार र अपेक्षित परिणाम दिन नसकेको आरोप लगाउँदै आएको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई शान्ति र सुरक्षाको मूल भूमिकामा केन्द्रित हुनुपर्ने बताउँदै आएको छ भने अन्य सदस्य राष्ट्रहरूले मानवअधिकार र विकासलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आएका छन् ।
अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक रिचर्ड गोवानका अनुसार सन् २०१६ को महासचिव चयन प्रक्रिया तुलनात्मक रूपमा बढी प्रतिस्पर्धात्मक थियो । यसपटक उम्मेदवारहरू स्थायी सदस्य राष्ट्रलाई असन्तुष्ट नबनाउने रणनीतिमा देखिएकाले प्रतिस्पर्धा संयमित बनेको उहाँको विश्लेषण छ ।
उम्मेदवारहरूले यसअघि नै १९३ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गरिसक्नुभएको छ । उहाँहरूले संयुक्त राष्ट्रसङ्घलाई प्रभावकारी बनाउन सुधार प्रक्रिया जारी राख्नुपर्ने र विश्वव्यापी शान्ति प्रयासमा महासचिवको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभएको छ ।
आगामी ३० जुलाईमा सुरक्षा परिषद्का १५ सदस्यले उम्मेदवारहरूको पहिलो गोप्य ‘स्ट्र पोल’ मतदान गर्नेछन् । आवश्यक समर्थन नपाएसम्म मतदान दोहोरिनेछ । कुनै उम्मेदवारले कम्तीमा नौ मत प्राप्त गर्नुका साथै पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनैको भिटो नपाएपछि उहाँको नाम औपचारिक अनुमोदनका लागि महासभामा पठाइनेछ ।
नयाँ महासचिवले १ जनवरी २०२७ देखि कार्यभार सम्हाल्नुहुनेछ ।
कूटनीतिज्ञहरूका अनुसार हालसम्म कुनै उम्मेदवारले स्पष्ट अग्रता बनाउनुभएको छैन । यद्यपि राफाएल ग्रोसीलाई सम्भावित अग्रपङ्क्तिका उम्मेदवारका रूपमा हेरिएको छ भने रेबेका ग्रिन्स्पान र क्यारोलिन रोड्रिग्स–बिर्केटले पनि उल्लेखनीय समर्थन पाइरहनुभएको छ ।
भौगोलिक पालोको परम्पराअनुसार यसपटक ल्याटिन अमेरिकी क्षेत्रले महासचिव पदमा दाबी गरिरहेको छ । साथै, संयुक्त राष्ट्रसङ्घको इतिहासमै पहिलोपटक महिला महासचिव चयन हुनुपर्ने माग पनि विभिन्न सदस्य राष्ट्रले उठाउँदै आएका छन् । एएफपी
