RayNewsDaily
स्ट्रेट अफ हर्मुज पार गर्न खोजेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
  • इरानले हर्मुज जलडमरूम पार गर्न खोजेका तीन तेल ट्याङ्कर नियन्त्रणमा लिएको दाबी ।
  • एउटा ट्याङ्करमा विस्फोटपछि आगलागी, अमेरिकामाथि इरानको गम्भीर आरोप ।
  • अमेरिकी आक्रमण र इरानी प्रतिकार चेतावनीसँगै तनाव थप चर्कियो ।

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरूम) पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । तीमध्ये एउटा ट्याङ्करमा विस्फोटपछि आगलागी भएको पनि इरानले जनाएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाको उक्साहटमा दक्षिणी मार्ग हुँदै हर्मुज जलडमरू पार गर्ने प्रयास गरिरहेका तीन ट्याङ्करलाई नियन्त्रणमा लिइएको हो । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इरानको सहमतिबिना जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजले यस्तै परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइएको छ ।

यसैबीच अमेरिकी क्षेप्यास्त्रले पश्चिमी इरानका अहवाज, रामसिर र एन्डिमेस्क सहरका साथै दक्षिणी इरानको बुशेहर आणविक ऊर्जा केन्द्र आसपासका क्षेत्रमा आक्रमण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इराकी सीमावर्ती शालमचेह सहरमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको पनि इरानको दाबी छ ।

अमेरिकी सेन्ट्रल कमान्डले भने आक्रमणको उद्देश्य अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई जोखिममा पार्ने इरानी सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ । हाल दुवै पक्षबीच हर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर तनाव चुलिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्रमा जहाजमाथि आक्रमण भए त्यसको जवाफमा इरानका पुल वा विद्युत् पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिनुभएको थियो ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत इरानले आत्मरक्षाको सिद्धान्तअनुसार आफ्नो पूर्वाधार वा सार्वभौमिकतामाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ । सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update