RayNewsDaily
नाइजेरियामा बन्दुकधारीको शृंखलाबद्ध आक्रमण, २३ जनाको ज्यान गयो
  • जामफरा राज्यका पाँच गाउँमा बन्दुकधारीको आक्रमण, २३ जनाको मृत्यु ।
  • अधिकांश मृतक खेतमा काम गरिरहेका किसान रहेको स्थानीय अधिकारीको भनाइ ।
  • उत्तरपश्चिम नाइजेरियामा आपराधिक गिरोहको हिंसा अझै नियन्त्रणबाहिर ।

गुसाउ । उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा सशस्त्र बन्दुकधारी समूहले गरेको शृंखलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार अधिकांश मृतक खेतमा काम गरिरहेका किसान हुन् । पछिल्लो घटनाले वर्षौंदेखि जारी आपराधिक हिंसाका कारण त्यस क्षेत्रको सुरक्षा अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।

तलाटा माफारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीका अनुसार बुधबार अपराह्न करिब ३ बजे बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २१ जनाको ज्यान गएको थियो ।

सौना जिल्लाका सचिव अल्हाजी सेहु गर्बाले पाँच गाउँलाई लक्षित गरी आक्रमण गरिएको र मृतकको संख्या २३ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पीडित खेतमा काम गरिरहेका किसान थिए ।

आक्रमणमा घाइते भएका तीन जनालाई प्रारम्भमा तलाटा माफारा जनरल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीहरूको अवस्था गम्भीर भएपछि थप उपचारका लागि छिमेकी सोकोटो राज्यस्थित शिक्षण अस्पतालमा सारिएको छ ।

घटनाबारे नाइजेरियाली प्रहरीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तरपश्चिम र मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय ‘डाकु’ नामले चिनिने सशस्त्र आपराधिक गिरोहले गाउँमा आक्रमण, गाईवस्तु लुटपाट, फिरौतीका लागि अपहरण तथा सामूहिक हत्या जस्ता हिंसात्मक गतिविधि गर्दै आएका छन् । यही कारण ती क्षेत्रको सुरक्षा अवस्था निरन्तर चुनौतीपूर्ण बन्दै गएको छ ।

नाइजेरियाली अधिकारीहरू उत्तरपूर्वमा जारी जिहादी विद्रोह, विभिन्न क्षेत्रमा देखिएको पृथकतावादी गतिविधि तथा उत्तरपश्चिम र मध्य क्षेत्रका आपराधिक गिरोहको हिंसासँग एकैसाथ जुधिरहेका छन् । केही आपराधिक समूह र जिहादी उग्रवादीबीच सम्बन्ध विस्तार भइरहेको हुनसक्ने चिन्ता सुरक्षा विश्लेषकहरूले पनि व्यक्त गरेका छन् । एएफपी

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update