RayNewsDaily
मोदीको घोषणा : प्रश्नपत्र चुहावट मुद्दा हेर्न फास्ट ट्र्याक अदालत गठन गरिने
  • प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो कारबाही गर्न फास्ट ट्र्याक अदालत बनाइने ।
  • विद्यार्थी आन्दोलन जारी, शिक्षामन्त्रीको राजीनामासहित तीन प्रमुख माग ।
  • प्रदर्शनका क्रममा ११८ भन्दा बढी प्रहरी र करिब ६० प्रदर्शनकारी घाइते ।

नयाँदिल्ली । एनइइटी प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विद्यार्थी आन्दोलन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटसम्बन्धी मुद्दाको छिटो सुनुवाइ र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गर्नुभएको छ । युवाको भविष्यसँग खेलवाड गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने भन्दै उहाँले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रश्नपत्र चुहावटमा संलग्नलाई शीघ्र कानुनी कारबाही गर्न विशेष अदालत गठन गर्ने निर्णय गरिएको बताउनुभयो । विद्यार्थीको हित संरक्षणका लागि सरकारले थप कदम चाल्ने र युवाको भविष्यमा क्षति पुर्‍याउने कसैलाई पनि उन्मुक्ति नदिइने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको यो घोषणा जुलाई २० देखि ‘चलो संसद्’ अभियानअन्तर्गत नयाँदिल्लीसहित विभिन्न सहरमा जारी प्रदर्शनका बीच आएको हो । आन्दोलनरत पक्षले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, एनइइटी प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति तथा शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । साथै भविष्यमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकामाथि यस्ता मुद्दा नचलाइने सरकारी प्रत्याभूति पनि माग गरिएको छ ।

cockroach-party-protest-1784786600.jpeg
आन्दोलनका प्रवक्ता सौरभ दासले शिक्षामन्त्रीको राजीनामा आन्दोलनको अपरिवर्तनीय माग भएको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।

यसैबीच, केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले प्रश्नपत्र चुहावटजस्तो गम्भीर विषयलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गर्दै यसबारे गम्भीर र गहिरो छलफल आवश्यक रहेको बताउनुभयो ।

दासका अनुसार अस्पतालमा उपचाररत आन्दोलनकर्मी सोनम वाङचुकसँग पटक-पटक छलफल भएको र आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण राख्ने सहमति भएको छ । वाङचुकले पनि प्रदर्शनकारीलाई संयम अपनाउन र आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउन सार्वजनिक अपिल गर्नुभएको छ ।

उहाँले विगतका आन्दोलनमा असामाजिक तत्व घुसाएर शान्तिपूर्ण प्रदर्शनलाई बदनाम गर्ने प्रयास हुने गरेको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।

दिल्ली प्रहरीका अनुसार प्रदर्शनका क्रममा भएको झडपमा विशेष आयुक्तदेखि सहायक आयुक्त तहसम्मका वरिष्ठ अधिकारी तथा महिला प्रहरीसहित ११८ भन्दा बढी प्रहरी कर्मचारी घाइते भएका छन् । घटनामा करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ । एएनआई

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update