- अमेरिकी सेनाको लगातार १२औँ रात इरानमा हवाई आक्रमण ।
- इरानले कडा प्रतिकारको चेतावनी दिँदा मध्यपूर्वमा तनाव उत्कर्षमा ।
- युद्धको प्रभाव विश्व ऊर्जा बजारमा, ब्रेन्ट कच्चा तेल ९५ डलर नाघ्यो ।
दुबई । अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनावलाई थप चर्काएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले कडा प्रतिकारको चेतावनी दिएको छ भने हुथी विद्रोहीहरूको गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रियता र तेलको मूल्यवृद्धिले क्षेत्रीय संकटलाई अझ गम्भीर बनाएको छ ।
अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यमाथि हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमले दक्षिणपश्चिमका रामसिर, अहवाज तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।
यसैबीच, अमेरिकाले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । उक्त सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानुनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ ।
यता, इरानी आक्रमणको आशंकापछि कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको छ । कुवेती सेनाले बिहीबार बिहान शत्रुपक्षका ड्रोनहरू अवरोध गरिएको र सुनिएका विस्फोट हवाई प्रतिरक्षा प्रणालीबाट ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिनुभएको छ । अमेरिकाले हर्मुज जलघाँटीमा जहाजमाथि हुने प्रत्येक आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । उहाँले इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको बताउनुभयो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हर्मुज जलघाँटीमा कुनै जहाजमाथि आक्रमण भए इरानका रणनीतिक पूर्वाधारमा जवाफी कारबाही गरिने चेतावनी दोहोर्याउनुभएको छ । उहाँले युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको उल्लेख गर्दै आवश्यक परे थप कदम चालिने बताउनुभयो ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका छन् । यसअघि उनीहरूले साउदी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । पाँच महिनादेखिको युद्धका कारण हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमन पनि प्रभावित बनेको छ ।
अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आईसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनरत जहाजहरूलाई रेडियोमार्फत चेतावनी सन्देश पठाउन थालेका छन् ।
युद्धको प्रभाव विश्व ऊर्जा बजारमा पनि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ सातापछि पहिलोपटक ९५ अमेरिकी डलर नाघेको छ भने अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि करिब तीन प्रतिशतले बढेको छ । एएफपी
