RayNewsDaily
इरान युद्धको खर्च ३७.५ अर्ब डलर नाघ्यो, अमेरिका-इरान तनाव थप चर्कियो
  • इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भएको जनाएको छ भने लगातार एघारौँ रात पनि इरानमा हवाई आक्रमण गरेको छ ।
  • इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै अमेरिका र उसका सहयोगीमाथि थप आक्रमणको चेतावनी दिएको छ, कुवेत, बहराइन र जोर्डनले भने ड्रोन तथा मिसाइल आक्रमण विफल पारेको दाबी गरेका छन् ।
  • हर्मुज जलघाँटी र लाल सागर क्षेत्रमा बढ्दो तनावले विश्व तेल आपूर्ति तथा ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ ।

तेहरान । इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको अमेरिकी प्रशासनले जनाएको छ । यसैबीच अमेरिका र इरानबीच सैन्य तनाव थप चर्किँदै जाँदा बुधबार तेहरानसहित विभिन्न क्षेत्रमा पुनः अमेरिकी हवाई आक्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य हुने अवस्था तत्काल नरहेको बताउनुभएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथ ले हालसम्म युद्ध सञ्चालनमा ३७.५ अर्ब डलर खर्च भइसकेको जानकारी दिँदै आगामी सैन्य अभियानका लागि थप अर्बौं डलर बजेट आवश्यक पर्ने बताउनुभएको छ ।

अमेरिकी सेनाले लगातार एघारौँ रात इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै हुने समुद्री व्यापारलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहर सहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ । तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ ।

हर्मुज जलघाँटीबाट सुरु भएको द्वन्द्व मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म फैलिँदै गएको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ ।

US-war-1784702486.jpeg
राष्ट्रपति ट्रम्पले इरानको नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ भूमिगत आणविक परिसर सम्भावित अर्को अमेरिकी लक्ष्य हुन सक्ने सङ्केत गर्नुभएको छ । पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

यता इरानले सम्भावित नयाँ अमेरिकी आक्रमण भए त्यसलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने चेतावनी दिएको छ । खताम अल–अन्बिया सैन्य कमान्डले अमेरिका, उसका सहयोगी र समर्थकका हित तथा सम्पत्तिमाथि प्रतिआक्रमण गरिने जनाएको छ ।

यसैबीच कुवेतले इरानबाट आएको भनिएको ड्रोन आक्रमण आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको दाबी गरेको छ । बहराइनले पनि इरानी आक्रमण रोकिएको जनाएको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल पारेको बताएका छन् । इरानी सेनाले भने कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ ।

इरान समर्थित यमनका हुथी विद्रोही ले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि क्षेत्रीय तनाव थप बढेको छ । ट्रम्पले यस्तो प्रयासको कडा जवाफ दिइने चेतावनी दिनुभएको छ भने साउदी अरेबियाले हुथीहरूको धम्कीको निन्दा गरेको छ ।

समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेक का अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्याङ्करले लाल सागरमा आफ्नो मार्ग परिवर्तन गरेका छन् । विश्लेषकहरूले हुथीहरूले तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्कर विस्फोटमा परेर ठप्प भएको दाबी गरेको छ । बेलायतको युकेएमटीओ ले पनि ओमानको तट नजिक एउटा ट्याङ्करमा अज्ञात प्रक्षेप्य ठोक्किएको जनाएको छ ।

युद्ध चर्किए पनि कूटनीतिक प्रयास भने जारी रहेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाई ले मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद भइरहेको जानकारी दिनुभएको छ । यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ ले इरानका गृहमन्त्री एस्कन्दर मोमेनी सँग भेट गर्दै सबै पक्षलाई संयम अपनाउन र मध्यपूर्वलाई थप अस्थिर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ । एएफपी

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update