- ट्रम्पसामु इरानसँग दश दिने युद्धविराम वा इजरायलसँग थप सैन्य अभियानका दुई विकल्प ।
- होर्मुज जलमार्ग खुला गर्ने उद्देश्यसहित क्षेत्रीय मध्यस्थकर्ताले युद्धविराम प्रस्ताव अघि सारे ।
- अमेरिका र इरानबीच तनाव जारी, दुवै पक्षले हालसम्म प्रस्ताव स्वीकार गरेका छैनन् ।
वासिङ्टन डीसी । अमेरिका र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दश दिने युद्धविराम गर्ने वा इजरायलको समर्थनमा थप सैन्य अभियान अघि बढाउने भन्ने विषयमा निर्णयको चरणमा रहेको अमेरिकी समाचार पोर्टल एक्सियोसले जनाएको छ ।
एक्सियोसले वरिष्ठ अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पसमक्ष हाल दुई विकल्प रहेको उल्लेख गरेको छ । पहिलो विकल्पका रूपमा होर्मुजको रणनीतिक जलमार्ग पुनः खोल्ने उद्देश्यसहित अस्थायी युद्धविरामको प्रस्तावलाई समर्थन गर्ने र दोस्रो विकल्पका रूपमा इजरायलसँग मिलेर सैन्य कारबाहीलाई थप विस्तार गर्ने विषय रहेको जनाइएको छ ।
रिपोर्टअनुसार ट्रम्पले यस विषयमा अन्तिम निर्णय गरिसक्नुभएको छैन । अमेरिकी अधिकारीहरूले आगामी दिनमा वासिङ्टनले कूटनीतिक पहल वा थप सैन्य दबाबमध्ये कुनै एक बाटो रोज्न सक्ने संकेत दिएका छन् ।
कतार, इजिप्ट, पाकिस्तानलगायत क्षेत्रीय मध्यस्थकर्ताहरूले अमेरिका र इरानबीच दश दिने युद्धविरामको प्रस्ताव अघि सारेका छन् । प्रस्तावमा अस्थायी रूपमा शत्रुता रोक्ने, स्ट्रेट अफ होर्मुज हुँदै ढुवानी मार्ग पुनः सञ्चालन गर्ने तथा समुद्री पारवहन व्यवस्थापनका लागि दीर्घकालीन वार्ता अघि बढाउने विषय समेटिएको छ ।
एक्सियोसका अनुसार ट्रम्प प्रशासनले उक्त प्रस्तावको समीक्षा गरिरहेको छ । यसैबीच अमेरिकाले क्षेत्रमा थप लडाकू विमान र हवाई इन्धन आपूर्ति गर्ने साधन तैनाथ गर्दै सैन्य उपस्थिति बढाएको छ भने इजरायलले कूटनीतिक प्रयास असफल भएमा ठूलो सैन्य अभियानका लागि तयारी गरिरहेको जनाइएको छ ।
अमेरिका र इरान दुवै पक्षले हालसम्म युद्धविराम प्रस्ताव स्वीकार गरेका छैनन् । दुवै पक्ष वार्ताको स्थितिलाई बलियो बनाउने प्रयासमा रहे पनि सैन्य गतिविधि भने जारी रहेको एक्सियोसले जनाएको छ ।
क्षेत्रीय मध्यस्थकर्ताहरूले ओमान, इरान र कतारबीच भएको छलफलपछि वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् । प्रस्तावित सम्झौतामा दश दिनको युद्धविराम अवधिमा होर्मुज जलमार्ग खुला गर्ने र त्यसपछि दीर्घकालीन सम्झौताका लागि वार्ता गर्ने विषय रहेको बताइएको छ ।
यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तनाव कम गर्न मध्यस्थकर्ताहरू सक्रिय रहेको पुष्टि गर्नुभएको छ । उहाँले मध्यस्थकर्तामार्फत केही प्रस्ताव प्राप्त भए पनि यस चरणमा त्यसबारे औपचारिक छलफल नभएको बताउनुभएको छ ।
इरानले अमेरिकी आक्रमणको स्रोतमा कडा जवाफ दिने र आवश्यक परे सैन्य कारबाही जारी राख्ने जनाएको छ । अर्कोतर्फ, अमेरिकी पक्षले पनि आफ्ना सैनिकमाथि भएको आक्रमणको जवाफ दिनुपर्ने धारणा राख्दै आएको छ ।
ट्रम्पले अस्थायी युद्धविरामको बाटो रोज्ने वा सैन्य कारबाहीलाई निरन्तरता दिने भन्ने विषयमा ह्वाइट हाउसको अन्तिम निर्णय आउन बाँकी रहेको एक्सियोसले जनाएको छ । एएनआई
