तेहरान, जुलाई । इरानका राष्ट्रपति मसुद पेजेशकियनले सोमबार इरान संयुक्त राज्य अमेरिकासँग ‘पूर्ण स्तरको युद्ध’ मा रहेको बताएका छन् । यसैबीच अमेरिकाले इरानभर आफ्नो हवाई आक्रमण विस्तार गर्दै देशको आणविक विद्युत् केन्द्र रहेको सहरमा समेत आक्रमण गरेको छ ।
जवाफी कारबाहीस्वरूप इरानले पनि क्षेत्रभर आफ्ना आक्रमणलाई निरन्तरता दिएको छ । इरानी रिभोलुसनरी गार्डले बहराइन, जोर्डन र सिरियाका विभिन्न लक्ष्यमा प्रहार गरेको जनाएको छ । यता बहराइनले भने तेहरानले आफ्नो हवाई नेभिगेसन प्रणालीलाई निशाना बनाएको आरोप लगाएको छ ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पेजेशकियनले भने, ‘यथार्थ के हो भने आज इस्लामिक गणतन्त्र इरान पूर्ण स्तरको युद्धमा संलग्न छ ।’
उनले थपे, ‘हामी यथार्थवादी हुनुपर्छ र यस प्रतिरोधका स्वाभाविक परिणामहरू स्वीकार गर्नुपर्छ ।’सरकारी सञ्चारमाध्यम र स्थानीय अधिकारीहरूले सोमबार देशको उत्तर तथा मध्य भागमा अमेरिकी आक्रमण भएको जानकारी दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ती क्षेत्रहरू नाकाबन्दीमा रहेको हर्मुज जलडमरूमध्य आसपासका क्षेत्रभन्दा निकै टाढा छन् । युद्ध सुरु हुनुअघि विश्वको करिब पाँचौं भाग तेल आपूर्ति यही जलमार्ग हुँदै हुने गर्दथ्यो ।
जुन महिनामा भएको सम्झौतापछि केही सातासम्म शान्त रहेको मध्यपूर्वको युद्ध फेरि सुरु भएको छ । रणनीतिक महत्वको हर्मुज जलडमरूमध्यमा नियन्त्रण कायम गर्न दुवै पक्षबीच संघर्ष चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ ।
अमेरिकासँग भएको युद्धविराम भंग भएपछि तेहरानले पुनः हर्मुज जलडमरूमध्यमा नाकाबन्दी लागू गरेको छ भने त्यसको जवाफमा वासिङ्टनले पनि इरानका बन्दरगाहहरूमा पुनः नाकाबन्दी गरेको छ ।
सोमबार आक्रमण भएका इरानका सबै प्रान्तमा सैन्य अड्डा तथा हवाई प्रतिरक्षा प्रणाली रहेका छन् । देशको एकमात्र सञ्चालनमा रहेको नागरिक आणविक विद्युत् केन्द्र रहेको बुशेहरका गभर्नर मोहम्मद मोजाफ्फारीले सरकारी समाचार संस्था इरनालाई भने, ‘केही मिनेटअघि अमेरिकी शत्रुका प्रक्षेप्यास्त्रहरूले बुशेहर सहरका विभिन्न स्थानमा प्रहार गरेका छन् ।’
उत्तरी पूर्वी अजरबैजान प्रान्तका संकट व्यवस्थापन इकाइ प्रमुख माजिद फरशीले इरनालाई दिएको जानकारीअनुसार त्यहाँ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । पछिल्ला आक्रमणका बाबजुद पनि इरानले मध्यस्थकर्तामार्फत अमेरिकासँग कूटनीतिक सम्पर्क जारी रहेको जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘केही मध्यस्थकर्तामार्फत विभिन्न प्रस्तावहरू हामीसम्म आइपुगेका छन् ।’पाकिस्तानको आन्तरिक मन्त्रालयका एक स्रोतका अनुसार इरानका गृहमन्त्री इस्कन्दर मोमेनी सोमबार मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानको राजधानी इस्लामाबाद जाने कार्यक्रम रहेको छ । तर भ्रमणको उद्देश्य खुलाइएको छैन ।
जहाजमा आगलागी
यसैबीच हर्मुज जलडमरूमध्यमा भएको आक्रमणपछि आगलागी भएको एक जहाजका नाविकहरूले जहाज छाडेका छन् । बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूके मेरिटाइम ट्रेड अपरेसन्स) ले यस्तो जनाएको हो ।
यसअघि इरानी रिभोलुसनरी गार्डले जलडमरूमध्य पार गर्ने प्रयास गरिरहेका दुई तेल ट्याङ्कर विस्फोट भएर रोकिएको जनाएको थियो । तस्निम समाचार संस्थाले प्रकाशित गरेको विज्ञप्तिअनुसार उक्त दाबी गरिएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार विश्वका सबै देशलाई अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बाँडफाँट गर्न आह्वान गरेका थिए ।
तर प्रवक्ता बाघाईले सोमबार तेहरानले आफ्ना विरोधीहरूलाई हर्मुज जलडमरूमध्य प्रयोग गरेर इरानको सुरक्षा तथा राष्ट्रिय हितमाथि खतरा सिर्जना गर्न नदिने बताएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले आइतबार लगातार नवौँ रात पनि इरानमाथिको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । विदेशमन्त्री रुबियोले भने कूटनीतिक समाधान खोज्ने प्रयास जारी राख्ने बताएका छन् ।
पछिल्लो युद्धका घटनाक्रम त्यसपछि आएका हुन्, जब सप्ताहन्तमा अमेरिकाले आफ्ना थप तीन सैनिकको मृत्यु भएको तथा एक सैनिक अझै बेपत्ता रहेको घोषणा गरेको थियो । सेन्टकमका अनुसार तीमध्ये दुई सैनिक शुक्रबार जोर्डनमा इरानी मिसाइल तथा ड्रोन आक्रमणमा मारिएका थिए भने अर्का एक सैनिक उत्तरी इराकमा खसेको इरानी ड्रोनबाट बाँकी रहेको विस्फोटक सामग्री निष्क्रिय पार्ने क्रममा मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूको मृत्युको प्रत्युत्तरस्वरूप गरिएको इरानमाथिको अमेरिकी आक्रमणले ‘इरानलाई निकै ठूलो क्षति पुर्याएको’ बताएका छन् । यससँगै युद्ध सुरु भएदेखि अमेरिकाका १७ सैनिकको मृत्यु पुष्टि भएको छ । यो युद्ध अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक आक्रमणबाट सुरु भएको थियो ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्मको तथ्याङ्कअनुसार पछिल्ला युद्धमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।
छिमेकी देशहरूमा इरानको आक्रमण
यसैबीच इरानी रिभोलुसनरी गार्डले सोमबार राति सिरिया, जोर्डन र कुवेतका विभिन्न लक्ष्यमा प्रहार गरेको जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार सिरियाको अल-तान्फ क्षेत्रमा रहेको शत्रु विशेष सैन्य कमाण्ड केन्द्रमा आकस्मिक आक्रमण गरिएको रिभोलुसनरी गार्डले जनाएको छ ।
अमेरिकाले फेब्रुअरीमै अल-तान्फबाट आफ्ना सैनिक फिर्ता बोलाइसकेको थियो ।
जोर्डनमा रहेको अकाबा विमानस्थलमा तैनाथ अमेरिकी सैन्य विमानहरूलाई ब्यालिस्टिक मिसाइलद्वारा निशाना बनाइएको र त्यसबाट धेरै विमानमा गम्भीर क्षति पुगेको इरानको दाबी छ ।
त्यस्तै कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरू, विशेषगरी प्रारम्भिक चेतावनी दिने राडार प्रणालीमा आक्रमण गरी उक्त प्रणाली पूर्ण रूपमा ध्वस्त पारिएको पनि रिभोलुसनरी गार्डले जनाएको छ ।
कुवेती सेनाले भने सोमबार जारी विज्ञप्तिमा इरानी आक्रमणपछि आएका शत्रुपक्षीय ड्रोनहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारिरहेको जनाएको छ । बहराइनको गृह मन्त्रालयले पनि हवाई आक्रमणको साइरन बजाइएको जानकारी दिँदै सबै नागरिक तथा बासिन्दालाई ‘निकटतम सुरक्षित स्थानमा जान’ आग्रह गरेको छ । एएफपी
