RayNewsDaily
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त        
बेलायतका राजा चार्ल्स तृतीयले जुलाई २०, २०२६ मा लन्डनस्थित बकिङ्घम दरबारमा आयोजित भेटका क्रममा बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहामसँग हस्तमिलाप गर्दै । सो अवसरमा राजा चार्ल्स तृतीयले लेबर पार्टीका नेता बर्नहामलाई प्रधानमन्त्री नियुक्त गर्दै नयाँ सरकार गठन गर्न औपचारिक रूपमा निमन्त्रणा दिएका थिए । (तस्बिर : आरोन चाउन/पूल/एएफपी)

लण्डन । यूकेमा एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेका छन् । गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार बेलायतको ५९औँ प्रधानमन्त्री बन्नुभएको छ ।     
     
बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहमले स्वीकार गरेको जनाइएको छ ।     
     
उहाँ पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुनुहुन्छ ।     
     
यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमवार राजा चाल्र्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनुभएको थियो ।     
     
त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश ‘बलियो’ बनेको बताउनुभएको थियो । उहाँले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताउनुभयो ।     
     
सम्बोधनका क्रममा उहाँले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा “निकै बढेको“ बताउनुभयो ।     
     
लेबर पार्टी संयुत्त, अधिराज्य (बेलायत) को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नहम प्रधानमन्त्री नियुक्त भएका हुन् ।     
     
प्रधानमन्त्री बनेपछि उहाँले संसदीय निर्वाचनको घोषणा गर्न सक्नुहुनेछ तर अहिलेम्म उहाँले ताजा चुनावको विकल्प रोज्ने सङ्केत देखाउनुभएको छैन ।     
     
बेलायतमा नियमित तालिका अनुसार सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ ।     
     
बर्नहमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभएको छ।     
     
उहाँ विगतमा सन् २०१० र सन् २०१५ मा गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल हुनुभएको थियो ।     
     
ग्रेटर म्यान्चेस्टरका पूर्वनगरप्रमुख बर्नहम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बन्नुभएको हो ।     
     
बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नहमले आफू दश वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ सङ्कल्पको समय’ भएको बताउनुभयो ।     
     
उहाँले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताउनुभयो ।     
     
उहाँले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोप्रति पनि जोड दिनुभयो ।     
     
“म तपाईँहरूलाई सुन्छु। हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ। हामी हुनेछौँ,” उहाँले थप्नुभयो । एएफपी  

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update