RayNewsDaily
रुबियो चीन-रुससँग भेट्न तयार        

जोइन्ट बेस एन्ड्र्युज (संयुक्त राज्य अमेरिका) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेशमन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ । अमेरिका-चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो ।     
     
रुबियो यस साता मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदै हुनुहुन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेइजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको छ ।     
     
चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग सम्भावित भेटबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा रुबियोले आफूहरू त्यस्ता भेटवार्ताका लागि खुला रहेको बताउनुभयो । यद्यपि सम्भावित छलफलका विषय संवेदनशील भएकाले त्यसबारे सार्वजनिक रूपमा टिप्पणी गर्न नमिल्ने उहाँको भनाइ थियो ।     
     
रुबियोले गत वर्ष क्वालालम्पुरमा आयोजित आसियान बैठकका अवसरमा वाङ यीसँग भेट गर्नुभएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणपछि दुवै विदेशमन्त्रीबीच टेलिफोन वार्ता पनि भएको थियो ।     
     
विदेशमन्त्रीका रूपमा रुबियोको यो फिलिपिन्सको पहिलो भ्रमण हो । अमेरिका–इरान युद्धका कारण उत्पन्न आर्थिक दबाबले दक्षिणपूर्वी एसियाली मुलुकहरू प्रभावित भइरहेका बेला उहाँको भ्रमण हुन लागेको हो ।     
     
रुबियोले आसियानलाई अमेरिकाको क्षेत्रीय संलग्नताको प्रमुख मञ्चको रूपमा वर्णन गर्दै भ्रमणका क्रममा भारत, जापान र अस्ट्रेलियासहितको ‘क्वाड’ समूहका विदेशमन्त्रीहरूसँग पनि बैठक गर्ने तथा विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागी हुने जानकारी दिनुभएको छ । एएफपी 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update