RayNewsDaily
हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद पदबाट राजीनामा

बुडापेस्ट । हङ्गेरीका राष्ट्रवादी पूर्व प्रधानमन्त्री भिक्टर ओरबानका निकट सहयोगी तथा पूर्व विदेशमन्त्री पिटर सिज्जार्टोले बुधबार संसद् सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँले चिनियाँ विद्युतीय सवारीसाधन (इभी) कम्पनी (विवाइडी) मा काम गर्न जाने घोषणा गर्दै संसद् सदस्यबाट राजिनामा दिनुभएको हो । 

विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन उत्पादक कम्पनी विवाइडीले विगतका वर्षमा मध्य युरोपको यो देशलाई आफ्नो व्यापार सविस्ताको केन्द्र बनाएको छ । ओरबान सरकारबाट यसले करिब ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको बताइन्छ । सिज्जार्टो ओरबानको चुनावी हारपछि सन् २०१४ देखि मे महिनासम्म विदेशमन्त्रीको रूपमा काम गरेका उहाँ पदबाट बाहिरिनु भएको थियो । 

उहाँ सरकारको चीन र विशेष गरी विवाइडीप्रतिको नीतिमा निकै निकट मानिनुहुन्छ । सन् २००२ देखि संसद सदस्य रहेका ४७ वर्षीय सिज्जार्टोले फेसबुकमा एक सन्देश जारी गर्दै बिवाइडीबाट ‘अत्यन्त प्रतिष्ठित प्रस्ताव’ प्राप्त भएकाले संसदबाट बाहिरिने बताउनुभएको हो । उहाँले विवाइडीलाई ‘विश्वका अग्रणी कम्पनीमध्ये एक’ भन्नुभएको छ । 

“आजदेखि म समूहको बाह्य सम्बन्ध र नयाँ व्यापारिक क्षेत्रको विकासको लागि कार्यकारीको रूपमा काम गर्ने छु,” उहाँले लेख्नुभएको छ । अप्रिलको निर्वाचनमा १६ वर्षपछि ओरबानलाई सत्ताबाट हटाएका प्रधानमन्त्री पिटर माग्यारले सिज्जार्टोले ‘लामो समयदेखि विदेशी हितको प्रतिनिधित्व गर्दै आएको’ र विवाइडीलाई ‘ठूलो सरकारी अनुदान’ दिलाउन पहिले नै लबीङ गरेको आरोप लगाउनुभएको छ । 

“अघिल्लो र अहिलेकोबिचमा एउटै फरक के छ भने अब पिटर सिज्जार्टोले यो ‘काम’ को लागि हङ्गेरीका जनताबाट तलब लिनुहुने छैन, आफ्नो वास्तविक रोजगारदाताबाट लिनुहुनेछ,” युरोपेली समर्थक कन्जर्भेटिभ नेता माग्यारले फेसबुकमा लेख्नुभएको छ । विवाइडीलेले सन् २०२४ मा हङ्गेरीको दक्षिणी शहर सेजेडमा आफ्नो पहिलो युरोपेली इलेक्ट्रिक कार उत्पादन कारखाना निर्माण सुरु गरेको थियो । 

गत वर्ष उसले आफ्नो क्षेत्रीय मुख्य कार्यालय र अनुसन्धान केन्द्र नेदरल्याण्ड्सबाट बुडापेस्ट सार्ने घोषणा गरेको थियो । गत वर्ष सिज्जार्टोले सरकारले विवाइडीलाई बुडापेस्ट केन्द्र खोल्नका लागि २० अर्ब फोरिन्ट (करिब छ करोड ४० लाख अमेरिकी डलर) दिने बताउनुभएको थियो । उक्त कम्पनीको सेजेड कारखानाले अझै औपचारिकरूपमा उत्पादन सुरु गरेको छैन, तर यसले पनि अज्ञात रकमको सरकारी अनुदान प्राप्त गरेको छ । 

अनुसन्धानात्मक वेबसाइट एट्लाट्स्जोका अनुसार कुल अनुदान १२० देखि १३० अर्ब फोरिन्टसम्म हुन सक्छ । विदेशमन्त्रीको रूपमा सिज्जार्टो युरोपेली कूटनीतिज्ञप्रति आक्रामक दृष्टिकोण राख्ने र रूसप्रति नरम दृष्टिकोण राख्ने नेता मानिनुहुन्छ । रासस/एएफपी 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update