RayNewsDaily
एआईको मागले चीनको निर्यातमा उछाल        

हङकङ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।     
     
चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।     
     
जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो ।     
     
क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स-प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ ।     
     
विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।     
     
निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ ।     
     
भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ ।     
     
चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ ।     
     
बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताउनुभयो । उहाँका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ ।     
     
जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो ।     
     
चीनले बुधबार अप्रिल-जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पु¥याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ ।     
     
यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड-इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् । एपी 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update