RayNewsDaily
चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता        

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग भेट गर्नुभएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुकासेन्को रुसका प्रमुख सहयोगी मानिनुहुन्छ ।     
     
चीनको राष्ट्रिय टेलिभिजन प्रसारक सीसीटीभीका अनुसार राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा स्वागत गर्नुभएको हो ।     
     
“‘चीन-बेलारुस सम्बन्धले अन्तर्राष्ट्रिय चुनौतीहरूको परीक्षा झेलेको’ छ तर यो अब ‘इतिहासको सबैभन्दा राम्रो कालमा प्रवेश’ गर्दैछ,” चीनको विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।     
     
राष्ट्रपति सीले बेलारूसी समकक्षी लुकासेन्कोलाई दुई देशले ‘सबै क्षेत्रका स्रोतहरूलाई परिचालन गरेर ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को निर्माणलाई प्रवर्धन गर्नुपर्ने र व्यावहारिक सहयोगलाई समृद्ध बनाउनुपर्ने’ बताएको विज्ञप्तिमा उल्लेख छ ।     
     
बेलारुसका नेताको यो भ्रमण गत हप्ता उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि भएको हो ।     
     
सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले मस्कोलाई सन् २०२२ मा युक्रेन आक्रमणका लागि बेलारुसबाट बाटो दिन अनुमति दिनुभएको थियो तर युद्धमा प्रत्यक्ष संलग्न हुने योजना अस्वीकार गर्नुभएको थियो ।     
     
नाटोको पूर्वी सीमासँग जोडिएको बेलारुसले रुसको पछिल्लो आणविक क्षमतायुक्त मिसाइल ‘ओरेश्निक’ राखेको छ ।     
     
चीनले द्वन्द्वभरि आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि किएभका सहयोगीहरूले बेइजिङले गुप्त रूपमा मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।     
     
नेता लुकासेन्कोले चिनिया राष्ट्रपति सीसँग पछिल्लो पटक सन् २०२५ को अगस्टमा भेट गर्नुभएको थियो । त्यसको केही दिनपछि उहाँ बेइजिङमा भएको ठूलो सैन्य कवाजमा सहभागी हुनुभएको थियो । एएफपी

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update