जेरुसेलम । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ ।
एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताएका छन् ।
इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने बताए ।
शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो ।
लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरायलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो ।
इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)ले हिज्बुल्लाह र इजरायलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्ति जारी गर्दै भन्नुभयो, “हामी युद्धविरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुनः जारी राख्न तयार छ।”
अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।
इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो।
इजरायलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उहाँकै शब्दमा सम्पूर्ण लेबनान जल्नुपर्ने बताउनुभएको थियो ।
लेबनानका राष्ट्रपति योसेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाउनुभएको थियो ।
गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट हमलाहरू गरेको थियो। त्यसपछि मार्चको प्रारम्भमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनान पनि तानिएको थियो ।
इजरायलले लेबनानभर बमबारी गरेको थियो र उत्तरी सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो ।
पछिल्लो द्वन्द्व यता लेबनानमा कम्तीमा तीन हजार ९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दक्षिण लेबनानका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन् । एएफपी
