RayNewsDaily
रोमानियामा नयाँ प्रधानमन्त्रीको खोजी

बुखारेस्ट । रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गर्नुभएको छ । अघिल्लो उम्मेदवारले संसदमा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाउनुभएको हो ।

५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य हुनुनुहुन्छ । उहाँ यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावित युजेन टोम्याकले आवश्यक राजनीतिक समर्थन जुटाउन नसकेपछि आफ्नो जनादेश फिर्ता लिनुभएको थियो । संसद्‌मा मन्त्रिपरिषद् प्रस्तुत गर्ने समय सीमा पूरा हुन नसकेपछि राष्ट्रपति डानले नयाँ विकल्प रोज्नुभएको हो ।

बुखारेस्टस्थित कोट्रोसेनी दरबारमा आयोजित कार्यक्रममा राष्ट्रपति डानले टोम्याकले आफ्नो जनादेश फिर्ता लिएको जानकारी दिँदै एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका रूपमा मनोनीत गरेको घोषणा गर्नुभयो । उहाँको मनोनयनले प्रभावकारी हुन भने संसद्को स्वीकृति आवश्यक पर्ने छ । राष्ट्रपति डानले भेस्टियालाई प्रशासनिक अनुभव र व्यवस्थापकीय क्षमताका आधारमा योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभयो । 

उहाँका अनुसार भेस्टियाले आफ्नो राजनीतिक यात्रामा स्थानीय तहदेखि राष्ट्रिय नेतृत्वसम्मका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको छ । भेस्टियाले सानो सहरको मेयर, ब्रासोभ काउन्टी परिषदका अध्यक्ष तथा विकास मन्त्रीका रूपमा काम गरी सक्नुभएको छ । ब्रासोभमा रहँदा उहाँले युरोपेली कोष आकर्षित गरी विकास परियोजना अघि बढाएको उल्लेख गरिएको छ ।

राष्ट्रपति डानले भेस्टियालाई पश्चिम समर्थक राजनीतिज्ञ र बजेट व्यवस्थापनमा अनुभवी व्यक्ति भन्दै उहाँले नयाँ जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०२३ देखि २०२४ सम्म विकास मन्त्री रहनुभएका भेस्टियाले आफू वास्तविक सुधार लागु गर्ने र रोमानियालाई पश्चिम समर्थक मार्गमा अघि बढाउने राजनीतिक सरकार गठन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले रोमानिया युरोपको छैटौँ ठुलो देश भएकाले विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री पदका लागि राष्ट्रपतिको लगातार दोस्रो मनोनयन मे महिनामा तत्कालीन प्रधानमन्त्री इलि बोलोजन अविश्वास प्रस्तावबाट पदच्युत भएपछि आएको हो । रोमानियामा अर्को आम निर्वाचन सन् २०२८ सम्म नहुने भएकाले वर्तमान राजनीतिक व्यवस्थापनलाई विशेष महत्त्वका साथ हेरिएको छ । युरोपेली सङ्घ (इयु) भित्र सबैभन्दा ठुलो बजेट घाटा झेलिरहेको रोमानिया उच्च मुद्रास्फीति र प्राविधिक मन्दीको चुनौतीसँग जुधिरहेको छ ।

सन् २०२५ मा गठबन्धन सरकार सत्तामा आएपछि बजेट घाटा घटाउने लक्ष्यलाई प्रमुख प्राथमिकता बनाइएको थियो । बोलोजन सरकारले कम्युनिस्ट शासनपछिको रोमानियाको गम्भीर राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्य राखे पनि त्यो सरकार एक वर्षभन्दा कम समयमै ढलेको थियो । यस्तो अवस्थामा भेस्टियाको सम्भावित नेतृत्वलाई राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ परीक्षणका रूपमा हेरिएको छ । एपी 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update