टोकियो । जापानको नयाँ पुस्ताको फ्ल्यागशिप एच३ रकेट कम लागत संस्करणसहित सफल प्रक्षेपण गर्दै पुनः उडानमा फर्किएको छ । निरन्तर असफलताका कारण चुनौतीमा परेको जापानको अन्तरिक्ष कार्यक्रमका लागि यो उडानलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (ज्याक्सा) का अनुसार एच३ रकेटलाई शुक्रबार बिहान दक्षिणपश्चिम जापानको तानेगाशिमा स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । रकेटको दोस्रो चरण लक्षित कक्षामा सफलतापूर्वक पुगेको पुष्टि गरिएको छ भने विश्वविद्यालय तथा अन्य संस्थाहरूले विकास गरेका छवटा साना उपग्रहहरू सफलतापूर्वक अलग भएको अनुमान गरिएको छ ।
यस पटकको मिसनले एच३ को नयाँ ‘३० कन्फिगरेसन’ को पहिलो उडानलाई प्रतिनिधित्व गरेको हो । यो संस्करण तीनवटा लिक्विड फ्युल एलई–९ इन्जिनसहित कुनै पनि बुस्टर बिना सञ्चालन गरिएको हो र यसलाई लागत घटाएर अन्तरिक्ष प्रतिस्पर्धामा बढी प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको हो । यसका विभिन्न मोडेलहरूले ग्राहकको आवश्यकताअनुसार सेवा दिने गरी डिजाइन गरिएको छ ।
एच३ रकेट जापानको पुरानो एच–२ए रकेटलाई प्रतिस्थापन गर्ने लक्ष्यसहित विकास गरिएको हो, जसको सफलताको इतिहास लगभग पूर्ण मानिन्छ । तर नयाँ पुस्ताको एच३ ले सुरुआती चरणमै दुई असफलता भोगेपछि लामो समय ग्राउन्डेड रहनुपरेको थियो ।
मार्च २०२३ को पहिलो परीक्षण उडानमा दोस्रो चरणको इन्जिन प्रज्वलन हुन नसक्दा मिशन असफल भएको थियो । त्यसपछि डिसेम्बरमा भएको अर्को प्रक्षेपणमा नेभिगेसन स्याटेलाइट बोकेको भए पनि दोस्रो चरणको खराबीका कारण उपग्रहलाई निर्धारित कक्षामा पु¥याउन सकेको थिएन ।
यी असफलतापछि एच३ कार्यक्रम रोकिएको थियो र शुक्रबारको सफल उडानलाई त्यसयताकै पहिलो ठूलो पुनरागमनका रूपमा हेरिएको छ । जापानको भविष्यका अन्तरिक्ष योजनाहरू, विशेषगरी सन् २०२८ मा प्रस्तावित मङ्गल मिसन, यसै रकेट प्रणालीमा निर्भर रहने भएकाले यो सफलतालाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।
यता सानो एप्सिलोन–एस रकेट शृङ्खला पनि २०२४ को परीक्षण क्रममा आगलागी भएपछि ढिलाइमा परेको छ, जसले जापानको समग्र अन्तरिक्ष कार्यक्रमलाई थप चुनौती दिएको थियो ।
ज्याक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरेको एच३ रकेटलाई अब वार्षिक रूपमा छ देखि आठ पटक प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । यो सफलताले जापानलाई विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धी बनाउन र एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । एपी
