RayNewsDaily
शन चौ-२१’ अभियान सफल, तीनजना अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

पैचिङ । चीनको ‘शन चौ-२१’ अन्तरिक्ष अभियानमा सहभागी तीनजना अन्तरिक्षयात्री चाङ लु, वु फेई र चाङ होङचाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल पैचिङ आइपुग्नुभएको छ ।

उहाँहरू शुक्रबार साँझ सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुभएको थियो। अन्तरिक्षमा लामो समय बिताएर फर्किनुभएका तीनै जना अन्तरिक्षयात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमसम्बन्धी निकायले जनाएको छ । साथै, शन चौ-२१ अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि गरिएको छ ।

अभियानका क्रममा उहाँहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । २१० दिनको अन्तरिक्ष बसाइ चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

1780131725144_781-1780203031.jpg


पृथ्वीमा फर्किएपछि उहाँहरू केही समय चिकित्सकीय निगरानी तथा क्वारेन्टिनमा बस्नुहुनेछ। यस अवधिमा विस्तृत स्वास्थ्य परीक्षण, शारीरिक अवस्था मूल्याङ्कन तथा आवश्यक पुनःस्थापना प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । अन्तरिक्षमा लामो समय बिताउँदा शरीरमा पर्न सक्ने प्रभावहरूको अध्ययनसमेत यस क्रममा गरिनेछ ।

सम्बन्धित निकायका अनुसार स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले पैचिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो अन्तरिक्ष यात्राका अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ ।

1780131725168_819-1780203054.jpg


शन चौ-२१ अभियानको सफल समापनलाई चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update