किन्शासा (कङ्गो) । लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको बताएका छन् ।
प्रकोपको प्रतिक्रियामा, कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मद्दत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ । यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु, र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनाथ गर्ने लगायतका कार्य गरेको जनाएको छ ।
अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो । रासस/क्युएनए
