दुबई । अमेरिका र इरानबीच दुई महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरे ‘अझ ठूलो स्तरको बमबारी’ हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वासिङ्टनबाट आएको नयाँ प्रस्तावहरूको समीक्षा गरिरहेको जनाएको हो । युद्धविराम कायम रहे पनि खाडी क्षेत्रमा तनाव भने अझै कम भएको छैन ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही थालेपछि सुरु भएको द्वन्द्वले विश्व ऊर्जा बजार, समुद्री व्यापार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पारेको थियो । अप्रिल ८ देखि औपचारिक युद्धविराम कायम भए पनि स्थायी समाधानका लागि भएका वार्ताहरू अझै निष्कर्षमा पुगेका छैनन् ।
यसबीच, युद्ध अन्त्यको सम्भावना देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा केही राहतको सङ्केत देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०० डलर आसपास स्थिर भएको छ । लगानीकर्ताहरूले हर्मुज जलघाँटी फेरि पूर्ण रूपमा खुल्ने र तेल तथा प्राकृतिक ग्यासको ढुवानी सामान्य बन्ने अपेक्षा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध ‘चाँडै अन्त्य हुन सक्ने’ दाबी गर्नुभएको छ । उहाँले इरानले अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गरे तेल र ग्यास ढुवानी पुनः सुचारु हुने उल्लेख गर्नुभएको थियो । तर प्रस्ताव अस्वीकार गरिए थप सैन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।
“यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुन्छ”, ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले सम्भावित आक्रमण ‘पहिलेभन्दा धेरै उच्च स्तर र तीव्र’ हुने दाबी पनि गर्नुभयो ।
युद्धका क्रममा ट्रम्प प्रशासनको रणनीति र सन्देश बारम्बार परिवर्तन भएको आरोप पनि लाग्दै आएको छ । विशेषगरी हर्मुज जलघाँटी खुलाउने अमेरिकी योजनाबारे ह्वाइट हाउसका अभिव्यक्तिहरू केही घण्टामै फरक–फरक आएको भन्दै विश्लेषकहरूले अमेरिकी नीति अस्थिर देखिएको टिप्पणी गरेका छन् ।
इरानले हाल हर्मुज जलघाँटी प्रभावकारी रूपमा नियन्त्रणमा राखेको छ । विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यो जलमार्ग हुँदै तेल, ग्यास तथा पेट्रोलियमजन्य वस्तु विश्व बजारमा पुग्ने गर्छन् । अमेरिकाले भने इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम राखेको छ ।
बुधबार अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्याङ्करमाथि कारबाही गरेको जनाएको थियो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेपछि लडाकू विमानले ट्याङ्करको बाहिरी भागमा गोली प्रहार गरेको थियो ।
यसैबीच ट्रम्पले इरानी नेतृत्व युद्ध अन्त्य गर्न इच्छुक रहेको दाबी गर्नुभएको छ । उहाँले ‘सम्झौता गर्न चाहने मानिसहरूसँग छलफल भइरहेको’ बताउँदै अमेरिका आफ्नो सर्तमा सहमति गराउन सक्षम हुन सक्ने सङ्केत दिनुभयो ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार ह्वाइट हाउसले इरानसँग सम्भावित सम्झौताका लागि एक पृष्ठको प्रारम्भिक ज्ञापन तयार पारेको छ । त्यसमा इरानको युरेनियम संवद्र्धन कार्यक्रम रोक्ने, अमेरिकी प्रतिबन्धहरू हटाउने, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने तथा हर्मुज जलघाँटी खुला गर्ने प्रावधान समावेश रहेको बताइएको छ ।
तर ह्वाइट हाउसले सम्भावित सम्झौताबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले राज्य सञ्चारमाध्यमसँग कुरा गर्दै एक्सियोसले उल्लेख गरेका प्रस्तावहरूलाई ‘कडा रूपमा अस्वीकार’ गरिएको बताउनुभयो । यद्यपि उहाँले पछिल्लो अमेरिकी प्रस्तावको अध्ययन जारी रहेको स्वीकार गर्नुभयो ।
यसअघि अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर हर्मुज जलघाँटी हुँदै व्यापारिक जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउने सैन्य योजना अघि सारेको थियो । तर मङ्गलबार ट्रम्प प्रशासनले उक्त योजना अस्थायी रूपमा स्थगित गरेको थियो ।
अमेरिकी सुरक्षामा सञ्चालित मार्ग खुलाइएपछि सोमबार केवल दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाज मात्रै जलघाँटी पार गर्न सफल भएका थिए । अमेरिकी सेनाले नागरिक जहाजलाई धम्की दिएको आरोप लगाउँदै इरानका छवटा साना डुङ्गा डुबाइएको दाबी पनि गरेको छ ।
हाल सयौँ व्यापारिक जहाज पर्सियन खाडी क्षेत्रमा रोकिएका छन् । हर्मुज जलघाँटी बन्द भएकाले ती जहाज खुला समुद्रसम्म पुग्न सकेका छैनन् । यसले विश्वव्यापी इन्धन मूल्य तीव्र रूपमा बढाएको छ भने विश्व अर्थतन्त्रमा व्यापक दबाब सिर्जना गरेको छ ।
विश्वकै ठूलो ढुवानी कम्पनीमध्ये एक हापाग–लोयडले जलघाँटी बन्द हुँदा हरेक हप्ता करिब छ करोड डलर अतिरिक्त खर्च भइरहेको जनाएको छ । बढ्दो इन्धन मूल्य र बीमा शुल्कले व्यापारिक ढुवानी क्षेत्रलाई गम्भीर असर परेको कम्पनीको भनाइ छ ।
यसैबीच चीनले युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न आह्वान गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गर्दै द्वन्द्वप्रति चीन ‘गहिरो रूपमा चिन्तित’ रहेको बताउनुभयो ।
चीन र इरानबीचको निकट आर्थिक तथा राजनीतिक सम्बन्धका कारण बेइजिङ अहिलेको सङ्कट समाधानमा प्रभावशाली भूमिका खेल्न सक्ने अवस्थामा देखिएको छ । ट्रम्प प्रशासनले पनि चीनलाई इरानमाथि प्रभाव प्रयोग गरी हर्मुज जलघाँटी खुलाउन आग्रह गरिरहेको छ ।
अराघचीको चीन भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्पको आगामी बेइजिङ भ्रमणअघि भएको हो । ट्रम्प मे १४–१५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय शिखर सम्मेलनमा सहभागी हुने तयारीमा हुनुहुन्छ ।
इरानी विदेशमन्त्री अराघचीले आफ्नो चीन भ्रमणका क्रममा इरानको आणविक कार्यक्रम, हर्मुज जलघाँटी र सम्भावित कूटनीतिक समाधानबारे विस्तृत छलफल भएको जानकारी दिनुभएको छ । उहाँले तेहरान आफ्नो रणनीतिक हित सुरक्षित रहने गरी मात्रै कुनै सम्झौतामा जाने अडानमा रहेको सङ्केत गर्नुभयो । रासस\एपी):
