RayNewsDaily
चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने    

काठमाडौँ । चक्रपथ विस्तार (दोस्रो चरण)कार्यान्वयन गर्न चीन सरकारले रु ११ अर्ब अनुदान प्रदान गर्ने भएको छ ।     
     
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज हस्ताक्षर गर्नुभएको हो ।     
     
सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।     
      
त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उत्तर-दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।     
     
राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताउनुभयो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update