RayNewsDaily
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाण्डू । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गर्नुभएको छ । 

     चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । 

    विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो ।

    साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भएको छ ।

    त्यसैगरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । छलफलमा  नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवद्र्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    उक्त मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update