काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय तथा प्रतिष्ठानका समसामयिक समस्या र तिनका समाधानका उपायबारे छलफल हुनेछ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूबारे पनि विमर्श गरिनेछ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनुहुनेछ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू पनि उपस्थित हुनुहुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनुहुनेछ ।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्नुहुनेछ ।
त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल हुनेछ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्नुहुनेछ ।
