पैचिङ । इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबिच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिनुभएको थियो । उहाँको यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यमले चीनले निकट भविष्यमा इरानलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेका बेला आएको हो ।
सिएनएनले अमेरिकी गुप्तचर स्रोत उद्धृत गर्दै चीनले आगामी केही साताभित्र इरानतर्फ उन्नत रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेको जनाएको थियो । यसैबिच, दी न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइल पठाइसकेको हुन सक्ने आशङ्का सार्वजनिक गरेको थियो । यी सबै आरोपको जवाफ दिँदै चीनले सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउने बताउनुभयो । “हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपको कडा विरोध गर्छौ”, उहाँले भन्नुभयो । चीनले आफ्नो निर्यात नियन्त्रण कानुन र अन्तर्राष्ट्रिय दायित्व अनुसार हतियार आपूर्तिमा कडाइ गर्ने नीति कायम रहेको स्पष्ट पारेको छ ।
यसले आफू कुनै पनि प्रकारको गैरजिम्मेवार सैन्य हस्तक्षेपमा संलग्न नभएको सङ्केत दिन खोजेको देखिन्छ । यद्यपि चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । चीन इरानको प्रमुख तेल खरिदकर्ता हो, जसले तेहरानको ऊर्जा निर्यातमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर विश्लेषकका अनुसार यी दुई देशबिच औपचारिक सैन्य गठबन्धन भने छैन, र उनीहरूको सम्बन्ध मुख्यतः आर्थिक तथा रणनीतिक स्वार्थमा आधारित रहेको मानिन्छ ।
साथै, चीनले खाडी क्षेत्रका अन्य देशसँग पनि सुदृढ आर्थिक सम्बन्ध कायम राख्दै आएको छ । इरानले युद्धका क्रममा ती देशमाथि गरेको आक्रमणप्रति चीनले आलोचना समेत गर्दै आएको छ, जसले बेइजिङ सन्तुलित कूटनीति अपनाउन खोजिरहेको सङ्केत गर्छ । एएफपी
