RayNewsDaily
अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

इस्लामाबाद । मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ । केही हप्तायता जारी युद्धलाई स्थायीरूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले ‘मेक वा ब्रेक’ चरणको संज्ञा दिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद आइपुग्नुभएको छ । उहाँलाई पाकिस्तानका सेना प्रमुख असीम मुनीरले नुर खान एयरबेसमा स्वागत गर्नुभएको थियो, जहाँ अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पहिले नै उपस्थित हुनुहुन्थ्यो । उता, इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल पनि रातारात राजधानी नजिकै अवतरण गरेको थियो ।

यद्यपि, दुवै पक्ष वार्तामा सहभागी भए पनि उनीहरूबिच विश्वासको गम्भीर अभाव देखिएको छ । इस्लामाबाद अवतरण गरेलगत्तै कालिबाफले ‘हामीसँग राम्रो मनसाय छ, तर विश्वास छैन’ भन्दै विगतका अनुभवले अमेरिकी प्रतिबद्धतामा भरोसा गर्न कठिन भएको सङ्केत गर्नुभएको छ । अमेरिकी पक्षबाट भने भान्सले प्रस्थानअघि नै सकारात्मक सङ्केत दिनुभएको थियो । उहाँले इरानले सद्भावका साथ वार्ता गरे अमेरिका पनि खुला रूपमा अघि बढ्न तयार रहेको बताउनुभयो । 

तर, छलकपटको प्रयास भएमा कडा प्रतिक्रिया आउने चेतावनी पनि उहाँले दिनुभएको थियो । यसबिच, युद्धविराम स्वयं नै कमजोर अवस्थामा रहेको छ । विशेष गरी लेबनानमा इजरायलको निरन्तर आक्रमणले स्थिति थप जटिल बनाएको छ । युद्धविराम लागू भएको ४८ घण्टा नबित्दै सयौँको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले यस अवस्थालाई ‘अझ कठिन चरण’ मा प्रवेश गरेको भन्दै आगामी वार्ता सहज नहुने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार फेब्रुअरी २८ मा सुरु भएको युद्धलाई अन्त्य गर्न अहिलेको प्रयास निर्णायक मोडमा पुगेको छ । वार्ताको एजेन्डामा मुख्यरूपमा रणनीतिक स्ट्रेट अफ होर्मुज, इरानी सम्पत्तिको अवरोध, लेबनानको अवस्था र आणविक कार्यक्रम जस्ता संवेदनशील विषय रहेका छन् । 

अमेरिकाले जलडमरूमध्य पुनः खोल्नुपर्ने माग राखेको छ भने इरानले लेबनानलाई पनि युद्धविरामको दायरामा समेट्नुपर्ने अडान लिएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल बग्ने स्ट्रेट अफ होर्मुज अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चाँडै खोल्ने प्रतिबद्धता जनाउँदै इरानसँगको वार्तामा ‘आणविक हतियाररहित’ सुनिश्चित गर्नु प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

इस्लामाबादमा वार्तालाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । ‘रेड जोन’ क्षेत्रमा प्रहरी र अर्धसैनिक बलको ठूलो उपस्थिति देखिएको छ भने मुख्य सडक नियन्त्रणमा लिइएका छन् । प्रतिनिधिमण्डल बस्ने होटल पनि विशेष सुरक्षामा राखिएका छन् । वार्ता प्रत्यक्ष हुने कि अप्रत्यक्ष भन्ने अझै स्पष्ट छैन । यसअघि ओमानको मध्यस्थतामा भएको जस्तै अप्रत्यक्ष ढाँचा अपनाइने सम्भावना पनि रहेको कूटनीतिक स्रोतले जनाएका छन् । पाकिस्तानले वार्तालाई सहज बनाउन विभिन्न विषयका विज्ञको टोली पनि परिचालन गरेको छ ।

यस प्रक्रियालाई अन्य क्षेत्रीय शक्तिले पनि नजिकबाट हेरिरहेका छन् । इजिप्ट, टर्की र चीनले मध्यस्थतामा भूमिका खेलेका छन् भने चीनलाई सम्भावित दीर्घकालीन सम्झौताको ग्यारेन्टरका रूपमा पनि हेरिएको छ । अमेरिकी पक्षले समेत चीनले इरानलाई वार्तामा ल्याउन भूमिका खेलेको स्वीकार गरेको छ । तर, मैदानमा जारी हिंसाले वार्ताको सफलतामा चुनौती थपेको छ । इजरायलले लेबनानलाई हालको युद्धविरामको दायरामा नराख्ने अडान लिएको छ भने हिजबुल्लाहले इजरायली सेनामाथि ड्रोन र रकेट आक्रमण जारी राखेको दाबी गरेको छ । 

इजरायलका लागि अमेरिकी राजदूतले पनि हिजबुल्लाहसँग युद्धविरामबारे छलफल नगर्ने सङ्केत दिएका छन् । यसबिच, तेहरानका सर्वसाधारणमा पनि वार्ताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । एक स्थानीय बासिन्दाले वार्ता सफल हुनेमा शङ्का व्यक्त गर्दै अमेरिकी अभिव्यक्तिलाई ‘हल्ला र अवास्तविक’ भनेका छन् । रासस/एएफपी 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update