इस्लामाबाद । अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ । वार्ताकारको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले रणनीतिक महत्व बोकेको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । उता, तेहरानले भने लेबनानमा भइरहेको इजरायली आक्रमणप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसलाई पनि युद्धविराम सम्झौताभित्र पर्ने विषय भएको दाबी गरेको छ, जसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ ।
यी तनावका बाबजुद पाकिस्तानले वार्ताको तयारीलाई अघि बढाइरहेको छ । आधिकारिक स्रोतका अनुसार प्रस्तावित छलफलमा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र जलडमरूमध्यमार्फत हुने अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्र प्रवाहजस्ता संवेदनशील विषय समेटिने अपेक्षा गरिएको थियो । तर इरानले आफ्नो सहभागिता सः शर्त बनाएको सङ्केत दिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले लेबनानमा इजरायली आक्रमण नरोकिए वार्ता निरर्थक हुने चेतावनी दिनुभयो । उहाँले अमेरिका आफ्ना युद्धविराम सम्बन्धी प्रतिबद्धता विशेष गरी लेबनानको सन्दर्भमा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताउनुभयो । इरानी अधिकारीले इजरायली आक्रमण जारी रहेसम्म इस्लामाबादमा हुने वार्तालाई ‘अर्थहीन’ ठहर गरेका छन् ।
यद्यपि, इरानको रिभोलुसनरी गाड्र्सले आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको र कुनै पनि देशमा द्वन्द्व सुरु नगरेको दाबी गरेको छ । यसले औपचारिक भनाइ र व्यवहारबिचको दूरीलाई उजागर गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्त विचार पनि तनाव बढाउने खालका देखिएका छन् । ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानीमा अवरोध सिर्जना गरेर ‘धेरै खराब काम’ गरेको आरोप लगाउँदै युद्धविराम उल्लङ्घन भएको बताउनुभयो ।
विश्वको करिब पाँचौँ भाग तेल र ठूलो परिमाणमा ग्यास तथा मल यही मार्गबाट प्रवाह भएकाले यसको प्रभाव विश्व अर्थतन्त्रमा प्रत्यक्ष पर्ने गर्दछ । युद्धविराम घोषणा भएयता त्यहाँबाट सीमित मात्रामा जहाज आवतजावत भएको जनाइएको छ । दुई हप्ते युद्धविराममार्फत हजारौँको ज्यान लिएको द्वन्द्व अन्त्य गर्दै वार्ताको ढोका खोल्ने प्रयास गरिएको थियो । तर वर्तमान अन्योलले फेरि हिंसा चर्किने डर बढाएको छ । तेहरानकी एक स्थानीय बासिन्दाले आफू युद्ध पुनः सुरु हुने र वर्तमान शासन दुवैबाट त्रसित रहेको प्रतिक्रिया दिएकी छन् । एएफपी
