न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उहाँले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिनुभएको छ ।
उहाँका अनुसार प्रत्येक देशका वित्तीय निकायहरूले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग प्रदान गर्नुपर्छ, जुन मध्यम अवधिको आर्थिक योजनासँग मिल्दोजुल्दो हुनुपर्छ । यसले आर्थिक दबाबमा परेका नागरिकलाई राहत दिन सहयोग गर्नेछ तर दीर्घकालीन आर्थिक स्थायित्वमा असर नपार्नेछ ।
त्यसैगरी उहाँले केन्द्रीय बैङ्कहरूलाई पनि सचेत रहन आग्रह गर्दै मुद्रास्फीति अनियन्त्रित हुने सङ्केत देखिएमा ब्याजदर बढाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्तो कदमले मूल्यवृद्धिको चक्रलाई नियन्त्रण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । साथै, आर्थिक सहयोग कार्यक्रमहरू अस्थायी र स्पष्ट समयसीमा सहित लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वित्तीय नियामक निकायहरूलाई पनि सजग, लचिलो र छिटो प्रतिक्रिया दिन सक्ने बनिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ, किनभने वर्तमान अवस्था अत्यन्त परिवर्तनशील रहेको छ । सीमित आर्थिक स्रोतहरूको जिम्मेवार प्रयोग गर्दै वित्तीय स्थायित्व कायम राख्न सूक्ष्म तथा समष्टिगत नीतिहरू प्रभावकारी रूपमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले सदस्य राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपूर्व युद्धको प्रभावका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि सहयोगको माग करिब २० अर्बदेखि ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान व्यक्त गनुभएको छ । सिन्ह्वा
