नयाँदिल्ली । भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ । यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह ग्यास उत्सर्जनमा विश्वमै तेस्रो स्थानमा रहेको भारतले सन् २०४७ सम्म आफ्नो आणविक ऊर्जा क्षमता हालको करिब आठ गिगावाटबाट १०० गिगावाट पुर्याउने लक्ष्य राखेको छ । यस्तो अवस्थामा यो प्रगतिलाई दीर्घकालीन ऊर्जा सुरक्षातर्फ रणनीतिक कदमका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कलपक्कमस्थित उक्त रिएक्टरले ‘क्रिटिकल’ अवस्था हासिल गरेको जानकारी दिँदै यसलाई भारतको असैन्य आणविक कार्यक्रमको दोस्रो चरणतर्फको निर्णायक प्रगति बताउनुभयो । उहाँका अनुसार यो उपलब्धिले स्वदेशी वैज्ञानिक क्षमता र इन्जिनियरिङ दक्षताको स्पष्ट झल्को दिन्छ ।
उहाँले सो रिएक्टरको विशेषता उल्लेख गर्दै यसले प्रयोग गरिएकोभन्दा बढी इन्धन उत्पादन गर्न सक्ने बताउनुभयो । यसलाई भविष्यमा भारतका विशाल थोरियम भण्डारको उपयोगतर्फ मार्गप्रशस्त गर्ने महत्त्वपूर्ण आधारका रूपमा पनि व्याख्या गरिएको छ । थोरियमलाई दीर्घकालीन रूपमा सुरक्षित र सम्भावनायुक्त आणविक इन्धन मानिन्छ ।
हाल उक्त रिएक्टरबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भइसकेको छैन । प्राविधिक रूपमा पूर्ण क्षमतामा सञ्चालनमा पुगेपछि मात्र यसले राष्ट्रिय ग्रिडमा बिजुली आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति अस्थिर भइरहेका बेला, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढिरहेका सन्दर्भमा भारतको यो उपलब्धि अझ महत्त्वपूर्ण मानिएको छ ।
हालसम्म भारतको ऊर्जा संरचना कोइलामा अत्यधिक निर्भर रहे पनि उसले सन् २०७० सम्म ‘शुद्ध–शून्य’ उत्सर्जन लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यस्तो लक्ष्य पूरा गर्न आणविक ऊर्जालाई वैकल्पिक तथा दीगो स्रोतका रूपमा विस्तार गर्ने नीति अगाडि सारिएको छ । एएफपी
