मेलबर्न । विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली सङ्घ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०१८ देखि जारी लामो वार्तापछि अस्ट्रेलियाको संसद् भवनमा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यसअघि अस्ट्रेलियाको रातो मासु बजार पहुँच र उत्पादनसम्बन्धी विवादका कारण सन् २०२३ मा वार्ता अवरुद्ध भएको थियो ।
दुवै नेताले नियममा आधारित खुला व्यापार प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो सम्झौता गरिएको बताउनुभएको छ । भोन डेर लेयनले विश्वमा ठूला शक्तिहरूले करलाई दबाबका रूपमा प्रयोग गरिरहेको सन्दर्भमा यस्तो सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार खुला व्यापारले केवल आर्थिक मात्र नभई विश्वासमा आधारित सम्बन्ध पनि मजबुत बनाउँछ ।
अल्बानिजले पनि दुवै पक्ष स्वतन्त्र र निष्पक्ष व्यापारप्रति प्रतिबद्ध रहेको बताउँदै यसले सहभागी अर्थतन्त्रहरूलाई समृद्ध बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार बदलिँदो विश्व सन्दर्भ र आपूर्ति शृङ्खलामा देखिएको जोखिमले वार्तालाई पुनः अघि बढाउन प्रेरित गरेको हो ।
यस सम्झौतासँगै दुवै पक्षले नयाँ रक्षा साझेदारी पनि घोषणा गरेका छन् । उक्त साझेदारीले सैन्य सहयोग, समुद्री सुरक्षा, साइबर सुरक्षा, रक्षा उद्योग र आतङ्कवादविरुद्धको सहकार्यलाई थप विस्तार गर्नेछ । साथै अस्ट्रेलियाले अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम ‘होराइजन युरोप’ मा सहभागी हुने प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
अल्बानिजले यस सहकार्यले विश्वव्यापी चुनौतीहरू सामना गर्न साझा ढाँचा प्रदान गर्ने बताउँदै युक्रेनमाथि रुसको आक्रमणविरुद्ध समर्थनजस्ता विषयमा पनि साझा प्रतिबद्धता दोहो¥याइएको जानकारी दिनुभयो ।
व्यापार सम्झौताअनुसार अस्ट्रेलियाका वाइन, समुद्री खाना र बागवानी उत्पादनहरूमा लाग्ने शुल्क हटाइनेछ । साथै इयुले अस्ट्रेलियाली रातो मासुका लागि ३० हजार ६०० मेट्रिक टनको कोटा उपलब्ध गराउनेछ । यसको ५५ प्रतिशत हिस्सा शुल्कमुक्त हुनेछ ।
तर केही प्रावधान विवादास्पद पनि रहेका छन् । उत्तरी इटालीसँग सम्बन्धित ‘प्रोसेको’ नाम प्रयोग गर्ने अस्ट्रेलियाली उत्पादकहरूलाई सम्झौता लागू भएको १० वर्षपछि उक्त नाम प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
यो सम्झौता लागू हुने मिति भने अझै घोषणा गरिएको छैन । पूर्ण पाठ सार्वजनिक नभइसकेकाले यसको दीर्घकालीन प्रभावबारे विश्लेषण गर्न समय लाग्ने विज्ञहरूले बताएका छन् ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अर्थशास्त्री हेजल मोइरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका विश्वव्यापी कर नीतिहरूले युरोप र अस्ट्रेलियालाई नजिक ल्याउने काम गरेको हो । उहाँले यस्तो दबाबले दुवै पक्षलाई वैकल्पिक आर्थिक सहकार्य खोज्न बाध्य बनाएको बताउनुभयो ।
यसैबीच, इयुले दक्षिण अमेरिकी चार देशसँग गरेको अर्को स्वतन्त्र व्यापार सम्झौता पनि मे १ देखि लागू हुने तयारीमा रहेको छ, जसले विश्व व्यापार संरचनामा थप परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । एपी
