वेलिङ्टन । दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ । ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे) का अनुसार भूकम्प मङ्गलबार साँझ स्थानीय समयअनुसार करिब २३७ किलोमिटर गहिराइमा गएको हो । सामान्यतया सतही भूकम्प बढी महसुस हुने भए पनि यस भूकम्पको गहिराइ बढी भएकाले सतहमा प्रभाव केही सीमित भएको अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र टोङ्गाको दोस्रो ठूलो सहर नियाफुबाट करिब १५३ किलोमिटर पश्चिम समुद्रमा रहेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन ।
टोङ्गाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तुरुन्तै उच्च स्थान वा भित्री भागमा सर्न निर्देशन दिएको छ । कार्यालयले समुद्र तट, किनार क्षेत्र र न्यून उचाइका स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ र स्थिति सामान्य नभएसम्म सतर्क रहन भनेको छ ।
यद्यपि अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पपछि सुनामीको औपचारिक चेतावनी जारी गरेको छैन । हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले पनि भूकम्प गहिराइमा भएकाले सुनामीको जोखिम नरहेको जनाएको छ ।
टोङ्गा पोलिनेसियामा अवस्थित एक द्वीपसमूह हो । यहाँ १७१ टापुहरू रहेका छन् र एक लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । अधिकांश मानिसहरू मुख्य टापु टोङ्गाटापुमा बस्छन् । मङ्गलबारको भूकम्प भने भाभाउ टापु समूह नजिक केन्द्रित भएको थियो ।
टोङ्गाटापुको नुकुआलोफा सहरस्थित तानोआ इन्टरनेसनल डेटलाइन होटलमा रहेका एक व्यक्तिले भूकम्पका कारण भवन हल्लिएको अनुभव भएको तर अन्य क्षति नभएको जानकारी दिनुभयो । “पूरै भवन हल्लिएको थियो, तर सबै सुरक्षित छन्”, उहाँले भन्नुभयो ।
प्रहरीले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन भने विस्तृत मूल्याङ्कन अझै जारी रहेको जनाइएको छ ।
टोङ्गा ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्छ, जहाँ विश्वका अधिकांश भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छन् । सन् २०२२ मा यहाँ भएको ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण तीन जनाको मृत्यु भएको थियो ।
न्युजिल्यान्डबाट करिब एक हजार ८०० किलोमिटर उत्तरपूर्वमा रहेको टोङ्गा नजिकको यस भूकम्पपछि न्युजिल्यान्डको विपद् व्यवस्थापन निकायले आफ्नो देशमा भने कुनै सुनामी जोखिम नरहेको स्पष्ट पारेको छ । एपी
