काठमाण्डू । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको चौथो अधिवेशन विभिन्न कार्यसूचि सफलताका साथ पूरा गर्दै आज भव्य रुपमा सम्पन्न भएको छ ।
चीनको राजधानी पैचिङस्थित जनवृहत सभा भवनमा एक भव्य समारोहको आयोजना गर्दै सो अधिवेशन सम्पन्न भएको हो । समापन समारोहमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको चौथो अधिवेशनको राजनीतिक निर्णय प्रस्तावलाई पारित गरिएको छ । सिसिटिभीका अनुसार पेश गरिएका प्रस्तावको लेखाजोखा गरी पारित गरिएको छ भने पेश गरिएका प्रस्ताव सम्बन्धी कार्यप्रतिवेदनको निर्णय प्रस्तावलाई पनि पारित गरिएको छ । प्राप्त समाचार अनुसार राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्यप्रतिवेदनको निर्णय प्रस्तावलाई भारी मतले पारित गरिएको छ । समापन समारोहमा चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङ लगायतका उच्च नेताहरुको उपस्थिती रहेको थियो ।
चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने महत्वपूर्ण संस्था हो । यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो ।
चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनु अघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु, स्वतन्त्र व्यक्तित्वहरु र विभिन्न जन संगठनहरुले संयुक्त रुपमा स्थापना गरेका हुन् । स्थापना पछि सन् १९४९ को सेप्टेम्बरमा चिनियाँ जन–राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिंगमा आयोजना गरिएको थियो ।
