काठमाण्डू । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको राज्य सञ्चालित मिडियाले जनाएको छ।
इरानको राज्य सञ्चालित मिडियाले पुष्टि गरेको छ कि इजरायल र अमेरिकाले इरानभरि हिजो शनिबार बिहान (स्थानीय समय) आक्रमण गरेपछि सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको छ।
आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरायली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गर्नुभएको थियो ।
ट्रम्पले "इरानी जनता", "अमेरिकी जनता" र "विश्वभरि धेरै मानिसका निम्ति" "न्याय" भएको भनी सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
उहाँले बमबारी "जारी रहने भन्दै "इरानी जनताका लागि "उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको" टिप्पणी गर्नुभएको छ ।
खामेनेई सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुनुहुन्थ्यो । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उहाँ सर्वोच्च नेता बन्नु भएको थियो ।
खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो।
विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनेईको कार्यालयको शक्तिले उहाँलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो।
यसैबीच अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ।
दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।
दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।
रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।
इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।
संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले "पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको" भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ। बीबीसी
